पारस र शोभा उत्कृष्ट खेलाडी



नेपाल समाचारपत्र
काठमाडौं
आर्मी अफिर्सस क्लबमा नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस् अवार्डमा पारस खड्का र शोभा गौचन उत्कृष्ट भएका छन्।
बिहीबार आर्मी अफिर्सस क्लबमा भएको कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस गत २०७४ सालमा उत्कृष्ट प्रदर्शनको आधारमा उत्कृष्ट खेलाडी बनेका हुन्। यो विधामा क्रिकेटमै अन्तर्राष्ट्रिय सफलता प्राप्त गरिरहेका सन्दीप लामिछाने भने उत्कृष्ट बन्न सकेनन्। उनले नै जित्ने सबैले आशा गरे पनि पारसले यो उपाधि जिते। पारसले ट्रफी लिएपछि भने– ‘सन्दीपले जित्ने पक्कै होला भनेको तर म नै उत्कृष्ट भएँ।’

पारस यस अवार्डमा चौथो पटक उत्कृष्ट खेलाडी भएका हुन्। यसअघि २०६६, २०६९ र २०७० मा उनले उत्कृष्ट खेलाडीको अवार्ड लिएका थिए। यो विधामा मनोनयन परेका अन्य खेलाडीमा जुडोका इन्द्रबहादुर श्रेष्ठ, गल्फका टंकबहादुर कार्की र ब्याडमिन्टनका दीपेश धामी थिए। पारसले गत वर्ष नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता दिलाएर नेपालको प्रतिष्ठा विश्वभरि फैलाएका थिए।

महिलातर्फ भने ब्याडमिन्टनकी शोभा गौचन उत्कृष्ट बन्न सफल भइन्। उनले बक्सिङकी विमला श्रेष्ठ, टेबलटेनिसकी नवीता श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र आर्चरीकी ज्ञानु अवालेलाई पछि पारेर उपाधि हात पारेकी हुन्। गत वर्ष तीन उपाधि जितेकी शोभाले पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मिक्स डबल्समा उपाधि हासिल गरेकी थिइन्।

यसै गरी अवार्डको सबैभन्दा लोकप्रिय विधा पिपुल्स च्वाइस अवार्डमा टेबलटेनिसका युवा खेलाडी श्यान्टु श्रेष्ठले बाजी मारेका छन्। श्यान्टुले क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बू, भलिबलका मानबहादुर श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पालाई उछिनेर पिपुल्स च्वाइस बनेका हुन्। उनले कुल ३ लाख ४४ हजार ३ सय मतको ४१ दशमलव ५१ प्रतिशत मत प्राप्त गरे।

योसँगै टेबलटेनिसका खेलाडीले लगातार दोस्रो पटक पिपुल्स च्वाइस अवार्ड जितेका छन्। गत वर्ष सम्पन्न अवार्डमा टेबलटेनिसकी नवीता श्रेष्ठ पिपुल्स च्वाइस भएकी थिइन्। पिपुल्स च्वाइसतर्फ भलिबलका मानबहादुरले २१ दशमलव ६५ प्रतिशत मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका थिए। तेस्रो स्थानमा आएका सन्दीपले १५ दशमलव १ प्रतिशत मत प्राप्त गरे। किरणको हकमा १३ दशमलव ३२ प्रतिशत र प्रतिमालाई ८ दशमलव ४५ प्रतिशत मत परेको थियो।

२ अवार्डमा उत्कृष्ट बन्न नसकेका सन्दीप युवा खेलाडीमा उत्कृष्ट बने। उनले आफ्नै टोलीका साथी खेलाडी दीपेन्द्रसिंह ऐरीलाई पछि पारेका थिए। त्यस्तै यो विधामा मनोनयन परेका खेलाडीमा जुडोकी मनिता श्रेष्ठ प्रधान, बक्सिङकी पुनम रावल र फुटबलका दिनेश हेम्जन थिए।

प्रशिक्षकको उत्कृष्ट अवार्ड क्रिकेटकै जगत टमाटाले जिते। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारेका थिए। त्यस्तै स्पेशल अवार्ड क्रिकेटका करण केसीले प्राप्त गर्दा पारा एथ्लीटतर्फ ≈िवलचेयर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट भए।

लाइफटाइम अवार्ड केसीलाई
नेपाली फुटबलका चर्चित खेलाडी अशोक केसीलाई आयोजक एनएसजेफले लाइफटाइम अवार्डबाट सम्मानित गरेको छ। फुटबल प्रेमीले चाचाजीको नामले पुकार्ने केसीको स्वस्थ नभएकाले अवार्डपछि केही बोलेनन्। १८ वर्ष फुटबल करियरमा सबै जसो घरेलु प्रतियोगिता उनले जितेका छन्।

एनआरटीबाट करियर शुरू गरेर ब्वाइज युनियन र नेपाल पुलिस क्लब (पहिला महेन्द्र पुलिस क्लब) बाट खेलेका उनी नेपालका उत्कृष्ट स्ट्राइकर बनेका थिए। ६४ वर्षीय केसी खेलाडीबाट सन्यास लिएपछि प्रशिक्षकको भूमिकामा रहेका छन्। हाल उनले एन्फा एकेडेमीका युवा खेलाडीलाई फुटबल कला सिकाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्