एट्लेटीको युरोपा लिग च्याम्पियन



लन्डन, (एजेन्सी)
स्पेनिस क्लब एट्लेटिको मेड्रिड यस सिजनको युरोपा लिग च्याम्पियन बनेको छ। प्रतियोगिताको बुधबार भएको फाइनलमा फ्रेन्च टोली मार्सेलाई ३–० गोलअन्तरले पराजित गर्दै एट्लेटिको मेड्रिडले युरोपा लिगको उपाधि जितेको हो। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजम्यानले २ गोलको योगदान गरेका थिए

खेलको २१ औं मिनेटमा गाबीको पासमा ग्रिजम्यानले बाँया खुट्टाको प्रहारमार्फत् गोल गर्दै स्पेनिस क्लबलाई शुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म एक गोलले अगाडि रहेको एट्लेटिकोका तर्फबाट खेलको ४९औं मिनेटमा ग्रीजम्यानले नै व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिको अग्रता दोब्बर पारेका थिए। मिडफिल्डमा को–केसँग पास मिलाएका उनले मार्सेका गोलरक्षक स्टिभ माण्डनालाई बल चिप गर्दै उत्कृष्ट गोल गरेका थिए।

खेलमा बलियो पकड बनाएको एट्लेटिकोका लागि ३४ वर्षीय स्पेनिस मिडफिल्डर गाबीले खेलको ८९औं मिनेटमा तेस्रो गोल गर्दै एट्लेटिकोका जित सुनिश्चित पारे। एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिग जितेको थियो। यूईएफए कप र युरोपा लिग गरी मार्से भने फाइनल पुगेको तीनवटै अवसरमा पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्