ए डिभिजन लिग असोजमा



काठमाडौं, (नेस)
करिब ५ वर्ष रोकिएको ए डिभिजन लिग फुटबल प्रतियोगिता असोजमा हुने तय भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले ए डिभिजन लिग आगामी असोज १३ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन गर्ने मिति तय गरेको हो। गत वशाख २४ गते बसेको नवनिर्वाचित एन्फाको कार्य समितिको पहिलो बैठकले लिगलाई प्राथमिकता दिएर लिग कमिटी गठन गरिएको थियो। पूर्वखेलाडी तथा पूर्वएआईजी विज्ञानराज शर्माको संयोजकत्वमा बनेको सो लिग कमिटीलाई १० दिनभित्र लिगको मिति तोक्नुपर्ने निर्देशन दिइएको थियो। जसअनुसार बुधबार लिग कमिटीले लिगको मिति तोकेको थियो।

यस्तै लिग कमिटीले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ। क्लबलाई ४ जना विदेशी खेलाडी अनुबन्ध गराउन छुट दिइएको छ भने मैदानमा ३ खेलाडी खेलाउन पाउने निर्देशन दिइएको छ। खेलाडीको नाम दर्ता प्रक्रिया भाद्र १५ गतेदेखि शुरू हुने पनि उक्त कमिटीले जनाएको छ।

लिगमा १४ ए डिभिजन टोलीले सहभागिता जनाउनेछन्। जसमा थ्रीस्टार क्लब, मनाङमस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, ब्रिगेड ब्वाइज, र हिमालयन शेर्पा क्लब रहेका छन्। च्यासल र एनआरटी गत वर्ष ए डिभिजनमा बढुवा भएका थिए। ललितपुर क्लब च्यासलको यो पहिलो ए डिभिजन लिगमा सहभागिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्