मोदीको भ्रमण केका लागि?



डा. डीआर उपाध्याय

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गरेर स्वदेश फर्किसकेका छन्। भ्रमण सफल भयो वा असफल भन्ने विषयमा धेरैका आ–आफ्ना विचार आएका छन्। कसैले यो भ्रमण धेरै सफल भएको तर्क गर्छन् भने कसैले भ्रमण असफल भएको टिप्पणी गरेका छन्। मोदी चार वर्षअघि पनि प्रधानमन्त्री स्तरको राजकीय भ्रमणमा नेपाल आएका थिए।

चार वर्षअघिको मोदीको नेपाल भ्रमण जनस्तरमा धेरै नै लोकप्रिय बनेको थियो। भारतले नाकाबन्दी लगाएपछि जनता मोदीप्रति चिढिँदै आएका छन्। किनभने नाकाबन्दीले पिल्सिएको त्यो विगतको दुःख भुल्न जनताले अझै सकेका छैनन्। त्यस कारणले पनि मोदीको यो नेपाल भ्रमण जनस्तरमा लोकप्रिय हुन सकेन। बरु जनस्तरबाट चर्को विरोध आएको छ। सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणीले त्यो संकेत गर्दछ। भारतीय प्रधानमन्त्री मोदीले छिमेकी नीतिमा नेपाललाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउनुपर्ने आवश्यकता देखिएको छ।

मोदीको पहिलो राजकीय भ्रमणले जनस्तरमा जुन किसिमले उचाइ लिएको थियो अहिले त्यस्तो देखिँदैन। संविधान निर्माणप्रति भारतको जुन असन्तुष्टि थियो र नेपालमा नाकाबन्दी लगाइयो, त्यसले दुई देशबीचको सम्बन्धमा तीक्तता आएको थियो। नाकाबन्दीपछि नेपाल चीनसँग नजिक हुन पुग्यो। यसले गर्दा भारतलाई झनै टाउको दुखाइ भएको छ। त्यसैले मोदीको पछिल्लो नेपाल भ्रमण नेपाल–भारतबीचको सम्बन्ध सुधारका लागि तय भएको अनुमान गर्न सकिन्छ। यस भ्रमणमा मोदीले नेपाललाई फकाउन खोजेको अवस्था देखिन्छ। जे होस्, नेपाल–भारतबीचको सम्बन्ध राम्रो भएमा दुवै मुलुकका लागि हित हुने हो तर चाहेजस्तो हुन सकेन।

मोदीले नेपालका धार्मिक स्थलमा गएर पूजा गर्नु पनि भारतीय मतदातालाई आकर्षित गर्न खोजेको संकेत बुझ्न सकिन्छ। जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको परिक्रमा गरी मोदी फर्किएका छन्। मोदीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धमा के–कस्तो सुधार आयो भन्ने कुरा भविष्यले देखाउनेछ। अहिले टिकाटिप्पणी गरिहाल्नुपर्ने बेला भएको छैन। हामीले भारत र चीनलाई सन्तुलित ढंगले हेर्नुपर्छ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण सकेर चीन जाने तयारी गरिरहेका बेला मोदी दुईदिने भ्रमणमा नेपाल आएका हुन्। यो भारत सरकारको हतास मनस्थिति हो। ओलीको चीन भ्रमणअघि मोदी नेपाल भ्रमणमा आउनुको अर्थपूर्ण कुरा छ। नेपालमा बढ्दो चीनसँगको सहकार्यप्रति भारतको चासो बढी छ। ओली पहिलोपटक प्रधानमन्त्री भएको बेलामा चीन भ्रमणमा उनले यातायात, पारवहनलगायतका धेरै सम्झौता गरेका थिए। त्यो भारतलाई मन परेको थिएन। त्यसैले सम्बन्ध सुधार भएको देखाएर नेपाललाई आकर्षित गर्न मोदीको भ्रमण भएको हुन सक्छ। तर ओलीको चीन भ्रमणपछि मात्र नेपाल–भारतबीचको सम्बन्धको विषयमा निष्कर्ष निकाल्न सकिएला।

मोदीको यो भ्रमण धार्मिक र नेपाल–भारतबीचको सम्बन्ध सुधारको कूटनीतिक आयाम हो। नेपालको तराई, पहाड, हिमाल जोड्ने गरी मोदीले नेपाल भ्रमण गरेका छन् भन्नेहरू पनि छन्। मोदी चतुर नेता हुन्। अहिले नेपालमा स्थिर सरकार छ। सरकारले नेपाल–भारतबीचको सम्बन्धमा सन्तुलित कूटनीतिक डिल गरेर अघि बढ्ने कोशिश गर्नुपर्छ। छिमेकी देशले देलान् र खान पाइएला भन्ने सोचमा परिवर्तन गर्नुपर्छ। अब हामी नेपाली कसैको गुलामी बन्नबाट मुक्त हुनुपर्छ। देशको विकास र समृद्धिमा छिमेकी दुई देशबीच सहकार्य गरेर जान सक्नुपर्छ। हामीले कसैलाई चिढ्याएर जानु पनि हँदैन। हामी देशको विकासको चरणमा प्रवेश गरेका छौं। हामी त अब दुई देशसँग हातेमालो गरेर जाने हो। अहिले पनि हामीले आफ्नो जनशक्ति परिचालन गरेर काम गर्न सकिरहेका छैनौं। यो दुःखद कुरा हो। हामीसँग राम्रो जनशक्ति पनि छ तर परिचालन गर्न सकेका छैनौं। हामी आत्मनिर्भर हुन खोजिरहेकै छैनौं। खाली विदेशीको मुख ताक्ने काममा मात्र लागेका छौं। यस्ता कार्यले देशको उन्नति हँदैन। विदेशी आशले मात्र देश बनाउन सकिँदैन। यो हाम्रो परराष्ट्र नीतिको ठूलो कमजोरी हो।

भारतले नेपालमा अस्थिर सरकारको मौका छोपेर धेरै फाइदा लिन खोज्यो। भूराजनीतिकरुपमा हामी धेरै रणनीतिक ठाउँमा छौं। भारत र चीनको बीचमा हामी छौं। चीनको कुरा गर्ने हो भने, ऊ शक्तिशाली राष्ट्र बन्दै गएको छ। चीन विश्व नेतृत्वतर्फ अघि बढिरहेको छ। हामीले चीन सरकारसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्छ। भारतले नेपालमाथि परम्परागत शैलीमा हेप्न खोज्छ। यो गलत परराष्ट्र नीति हो। भारतले नेपालको जलस्रोतमाथि आँखा लगाउँदै आएको छ।

भारतले नेपालमा गर्ने भनेको व्यापार नै हो। नेपालबाट भारतले धेरै फाइदा लिन खोजेको संकेत बुझ्न सकिन्छ। मोदीको नेपाल भ्रमणका क्रममा नयाँ सम्झौता नभए तापनि नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको एकल वार्तामा रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर, व्यापार तथा वाणिज्य सन्धि पुनरवलोकन, नेपालका लागि हवाई मार्ग थप, बाढी–डुबानलगायत केही विषयमा समझदारी भएको कुरा सुन्नमा आएको छ। विस्तारमा यसबारे पनि खुल्दै जाला। अरूण तेस्रो पनि चर्चामा छ। भारतले प्रतिबद्धता जनाएका परियोजनाहरू थुप्रै अझैसम्म अधुरै छन्। नयाँ–पुराना परियोजनाहरू भारत सरकारले कसरी पूरा गर्दै जान्छ, त्यसले पनि नेपाल–भारतबीचको विश्वासमा नयाँपन ल्याउँछ।

अब भारत सरकारले नेपाललाई हेर्ने, बुझ्ने कुरामा फरकपन ल्याउनुपर्छ। नेपाल भारतसामु नचाहिने कुरामा झुक्न चाहँदैन। यो नेपाल सरकारले अडान लिनुपर्छ। हाम्रा राजनीतिक दल र तिनका नेताहरूमा पनि कमजोरी छन्। नेताहरूले आफ्ना कमजोरी नसच्याएसम्म भारतले नेपाललाई हेपिरहन्छ। नेपाल–भारतबीचको शताब्दीयौंदेखिको बहुआयामिक सम्बन्ध छ। यो सम्बन्धलाई बलियो र कसिलो बनाएर जानुपर्छ। नेपाल–भारतबीचको सम्बन्धलाई उचाइमा पुयाउन दुई देशको बीचमा विश्वासको वातावरण निर्माण गर्नुपर्छ। विश्वास नै सबैभन्दा महत्वपूर्ण कुरा हो।

विगतमा नेपालप्रति असन्तुष्टि रहँदै आएको भारत अब कुन रणनीतिअनुसार अघि बढ्छ, त्यो भने हेर्न बाँकी छ। मोदीको जादुमय भाषण सुनेको भरमा सबै कुरा पत्याइहाल्ने अवस्था छैन। भारतीय प्रधानमन्त्रीले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहमा प्रदेश नं. २ लाई सय करोड सहयोग दिने घोषणा गरेका छन्। यो सहयोग घोषणामा स्वार्थ लुकेको छ कि निःस्वार्थ भन्ने कुरा बिस्तारै खुल्दै जानेछ।

यदि भारत सरकारले निःस्वार्थरुपमा प्रदेश नं. २ को विकास र समृद्धिलाई सहयोग गरेको हो भने धन्यवाद दिनुपर्छ। भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा–जाँदा र अहिले विभिन्न खाले टिकाटिप्पणीहरू भइरहेका छन्। नेपाल र भारतबीचको सम्बन्ध तल–माथि हँदै अघि बढ्दै आएको छ। भाषा, साहित्य, धर्म, संस्कृति, संस्कार, रीतिरिवाज दुई देशबीच मिल्दोजुल्दो नै छ। हामीले आपसमा अविश्वास पैदा गरेर जानु राम्रो हँदैन।
हाम्रा देशका राजनीतिक दलहरू र तिनका नेताहरू आफ्नो स्वार्थपूर्तिका लागि भारतसामु लम्पसारवादी चिन्तन बोकेर हिँड्नाले भारतले नेपाललाई हेपेको हो। यो कुरामा सबै सजग हुनुपर्ने आवश्यकता देखिएको छ।

जनतालाई भ्रममा राखेर भारतको दानापानी खान पल्किएका नेताहरूकै कारण राष्ट्रियता खतरामा छ। हामी शिर ठाडो बनाएर भारतसँग डिल गर्न चाहन्छौं। हामी र भारतसँगको सम्बन्धलाई कायम राख्न निःस्वार्थरुपमा अघि बढ्न चाहन्छौं। राजनीतिक दल र तिनका नेताहरूले पनि देश र जनताप्रति इमानदारीपूर्ण ढंगले प्रस्तुत हुन सिक्नुपर्छ। यो नै आजको आवश्यकता हो। दुई छिमेकी देशहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध राख्न सकेनौं भने भोलि हामीलाई समस्या पर्नेछ। दूरदर्शितापूर्ण ढंगले छिमेकी देशहरूसँग सम्बन्ध कायम राख्दै जानुपर्छ।

मोदी भ्रमणले दिन खोजेको सन्देश के हो ? हामीले गम्भीर भएर कूटनीतिक ढंगले बुझ्ने कोशिश गर्नुपर्छ। मोदीको भाषण सुनेर मख्ख हुने र हौसिने बेला होइन यो। परिणाम हेर्ने बेला हो यो। विकास र समृद्धिको हाम्रो यात्रालाई भारत र चीनले कसरी साथ–सहयोग गर्छन्, सबै कुरा त्यसमा निर्भर हुने कुरा हो। नेपाल सरकार परम्परागत ढंगले होइन, फरक ढंगले अघि बढ्नुपर्छ। त्यसो भयो भने मात्र नेपाल आफ्नो गन्तव्यमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्