धन्य हो कांग्रेस



नेपाली कांग्रेस आफूलाई मुलुककै पुरानो लोकतान्त्रिक पार्टी दावी गर्दै आएको छ। लोकतान्त्रिक विधि र प्रकृयाअनुसार पार्टीका गतिविधि सञ्चालन हुँदै आएको सो पार्टीका नेता दावी गर्छन्। कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको २ वर्ष २ महिनाभन्दा धेरै भइसक्यो।

संसदीय दलको कार्यसमितिले बल्ल पूर्णता पाएको खबर गाइँगुइँ सुनियो। सबै प्रदेशका पदाधिकारी निर्विरोध निर्वाचित भएको सुन्दा धरहरा छक्क प¥या छ, कांग्रेसमा पनि त्यस्तो हुँदोरहेछ। प्रदेश र संघको निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्ने कारण खोज्न झन्डै ६ महिना बितेर मात्रै नभए धेरै महिनाअघि नै पदाधिकारी निर्वाचित हुन्थे होला।

अब त पदाधिकारी मनोनित भइसके होला भनेको के को हुनु, तर अझै बाँकी नै पो छन् रे। कहाँ के बाँकी रहेछ भनेर धरहराले चासो लिएको त, ४२ वटा विभाग र धेरै सांगठनिक संरचनाले पूर्णता नपाएको बुझियो। त्यति मात्रै होइन, ५ जना केन्द्रीय सदस्य मनोनित गर्न पनि बाँकी रे।

एक हिसाबले कुरो ठिकै हो, चुनावमा जित्या भए कुरो फटाफट हुन्थ्यो होला, प्रतिपक्षमा खुम्चिन बाध्य भएपछि यस्तै हो। अब १४औं महाधिवेशनको मिति टुङ्गो लागेपछि चाहिँ सबै पदाधिकारी मनोनित हुन्छन् भन्नेमा धरहरा ढुक्क छ। त्यसो नगरेसम्म त कसरी वीपीको सपना साकार हुन्छ र ?

प्रतिक्रिया दिनुहोस्