मणि शाहको अन्त्येष्टि



कविरस शर्मा, काठमाडौं
५१ वर्षको उमेरमा सोमबार साँझ निधन भएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणि शाहको मंगलबार अन्त्येष्टि गरिएको छ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। शाहको पार्थिव शरीरलाई मंगलबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलिका लागि राखेसँगै दिउँसो आर्यघाटमा लगी अन्त्येष्टि गरिएको थियो।

शाहलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, खेलकुद मन्त्री जगत्बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुदका सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबलका अध्यक्ष कर्मा छिरिंग शेर्पा, पूर्वअध्यक्ष गणेश थापालगायत विभिन्न क्षेत्रका खेलकुदकर्मीले दशरथ रंगशाला पुगी श्रद्धाञ्जलि दिनुभएको थियो।

यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विज्ञप्तिमार्फत् मणि शाहको निधनले राखेप खेल क्षेत्रका साथै सिंगो राष्ट्र स्तब्ध भएको जनाएको छ। फुटबलको माध्यमबाट दक्षिण एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीमध्येका एक खेलाडीको पहिचान बनाउँदै देशको प्रतिष्ठा बढाउने दिवंगत शाह नेपाली फुटबल खेलाडीका प्रेरणाका स्रोत रहेको राखेपले जनायो।

कसले के–के भने
श्रद्धाञ्जलिका लागि रंगशाला पुगेका स्व.शाहका समकालीन फुटबलर साथीहरूले मणि नेपालका उत्कृष्ट खेलाडी भएको बताए। नेपाली फुटबलका चर्चित स्ट्राइकर र एन्फाका पूर्वअध्यक्ष गणेश थापाले भने– ‘फुटबल मैदानमा मणि र मेरो तालमेल राम्रो हुनेगथ्र्यो। मणि अनमार्क स्थानमा बल उपलब्ध गर्न माहिर थियो। जसका कारण मणि र मेरो सुझबुझ राम्रो हुने गथ्र्यो।’

यस्तै सन् १९९३ मा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता नेपाली फुटबल टोलीका गोलरक्षक तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह पनि उनलाई एकदमै राम्रो खेलाडी मान्छन्।

उनले भने– ‘मणि दाइ नेपाली फुटबलमा गड गिफ्टेड खेलाडी हुनुहुन्थ्यो। सायद अहिलेसम्म पनि उहाँजस्तो क्वालिटी भएको खेलाडी नेपालमा जन्मेको छैन जस्तो मलाई लाग्छ।’

यस्तै नेपाली फुटबलका चर्चित स्ट्राइकर हरि खड्काले पनि मणि शाहकोे निधनले नेपाली फुटबलले ऐतिहासिक व्यक्ति गुमाएको बताए। यस्तै दक्षिण एसियाली प्रतियोगितामा करातेमार्फत् स्वर्ण विजेता एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले स्व. शाहले म्याराडोनाको झ–झल्को दिने गरेको बताए। उनले भने– ‘मैले सानोमा म्याराडोना चिनेको थिइनँ। सबैले कपालको स्टाइल र खेल्ने शैली उस्तै हो भन्ने गरेकाले म्याराडोना पनि मणि शाहजस्तै हो भन्ने लाग्ने गथ्र्यो।’

प्रतिक्रिया दिनुहोस्