आइपिएलः पञ्जाबविरुद्ध बैंगलोरको शानदार जीत, कोहलीले बनाए नयाँ रेकर्ड



इन्दौर । होल्कर स्टेडियममा आइपिएल-११ को ४८औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले हराएको छ । पञ्जाबबाट पाएको ८९ रनको लक्ष्यलाई बैंगलोरले ८.१ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो ।

कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन नटआउट खेले । कोहलीले ५औं पटक एक सिजनमा ५०० रन बनाएका छन् । उनले पञ्जाबको विरुद्ध ३४ रन बनाउँदा यो सिजनमा ५०० रन पूरा गरेका थिए । एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौं पटक बनाउने कोहली पहिलो ब्याट्सम्यान हुन् । उनीपछि डेभिड वार्नरले ४ पटक ५०० रन पुर्‍याएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबले १५.१ ओभरमा ८८ रन जोड्दै अलआउट भएको थियो । एरोन फिञ्चले सबैभन्दा बढी २६ रन जोडे । उमेस यादवले तीन विकेट लिए ।

पञ्जाबले यो सिजनकै दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ । यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन बनाएको थियो । पञ्जाबले आज आफ्नो दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ । यसअघि २०१७ मा उसले पूणे सुपरजाइट्सको विरुद्ध ७३ रन बनाएको थियो । त्यसरी नै आरसिबीको विरुद्ध कुनै पनि टिमको यो तेस्रो सबैभन्दा कम स्कोर हो । यसअघि २००९ मा राजस्थान रोयल्सले ५८ रन र २०१० मा डेक्कन चार्जर्सले ८२ रन बनाएको थियो ।

पञ्जाबले अहिलेसम्म ११ खेलमा ६ खेल जितेर १२ अंकका साथ अंकतालिकामा तेस्रो स्थानमा छ । बैंगलोर ११ मा ४ खेल जितेर ८ अंकका साथ सातौं स्थानमा छ । बैंगलोर यो खेल जसरी पनि जित्नै पर्ने दवाबमा थियो । त्यसो त, पञ्जाब पनि यो खेल जितेर प्लेअफमा सजिलै टिकिरहन चाहन्थ्यो । पराजयसँगै अगाडिका दुई खेलमा जित्नुपर्ने दबावमा पञ्जाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्