चर्चित फुटबलर शाहको निधन



कविरस शर्मा, काठमाडौं
पालका पूर्वराष्ट्रिय फुटबलर मणिविक्रम शाहको सोमबार अपरा≈न ५१ वर्षको उमेरमा निधन भएको छ। कलेजोको रोगले ग्रसित शाह ज्वरो आएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। तर, नेपालका म्याराडोनाको उपनामले चर्चित शाहले अस्पतालमै आफ्नो अन्तिम श्वास लिनुपरेको थियो। अस्पतालको चिकित्सकका अनुसार उनको स्वास्थ्य जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। कलेजोले काम नगरेपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। शाहका श्रीमती र एक छोरी छन्।

सन् १९८५ मा बंगलादेशको राजधानी ढाकामा भएको दोस्रो दक्षिण एसियाली खेलकुदमा शाहले राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि डेब्यु गरेका थिए। नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। केवल १७ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट खेलेका शाहले ५ वर्षपछि नेपाललाई उपाधि पनि दिलाए। सन् १९९३ मा ढाकामै भएको ६औं दक्षिण एसियाली खेलकुदमा नेपाली फुटबलले स्वर्ण जितेको थियो।

भारतविरुद्धको फाइनल खेलको निर्धारित समय सकिन लाग्दा उनले फ्रिकिकमार्फत गोल गरेर नेपाललाई खेलमा फर्काएका थिए। यही उनको जादुगरी गोलसँगै खेल अतिरिक्त समयमा धकेलियो र नतिजाका लागि पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा नेपाल ४–३ ले बाजी मार्न सफल भएको थियो। जसमा पेनाल्टी गोलसमेत उनले गरेका थिए।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका शाहले सन् १९९७ मा करिब १२ वर्षको खेलजीवन समाप्त गरेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पदसम्म पुगेका उनको निधनले नेपाली फुटबलमा क्षति भएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए। एन्फाले मे १५ मा मनाउने भनिएको ग्रासरुट फुटबल डे पनि स्थगित गरिएको छ। उनको पार्थिव शरीरलाई मंगलबार दशरथ रंगशालामा श्रद्धाञ्जली दिने पनि एन्फाले जनाएको छ।

शाहले १० नम्बर जर्सी लगाउनु र विश्व चर्चित डिएगो म्याराडोनो शैली अपनाएकाले उनलाई नेपालका म्याराडोना भनेर उपनाम राखिएको थियो। सन् १९८५ मा उनले डेब्यु गरेका थिए भने म्याराडोना अर्जेन्टिनालाई १९८६ विश्वकप दिलाएर नायक बनेका थिए। म्याराडोनाको झैं कर्ली कपाल, उनकै उचाइको समानता र खेल्ने पनि समानताले गर्दा शाहले मैदानमा म्याराडोनाको झलक स्मरणीय गराउँथ्यो। उनले नेपालका लागि ४८ क्याप खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्