औद्योगिक क्षेत्रबाट बिदा भयो लोडसेडिङ



नेपाल समाचारपत्र
हेटौंडा
देशको विद्युत् पावर ब्याक अपका रूपमा मकवानपुरमा स्थापित कुलेखानी जलाशययुक्त आयोजनासहितको उचित उपयोग र संरचनागत सुधार र अन्य विकल्प प्रयोग गरिएपछि क्षेत्रफलको हिसाबमा देशमै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा सोमबारदेखि लोडसेडिङ बिदा भएको छ।

प्राधिकरणले विद्युत् आयोजना सुधारलाई प्राथमिकता दिएर र अन्य प्राविधिक गडबडी सुधारेर हेटौंडा औद्योगिक क्षेत्रका उद्योगीको भावना समेटेको हो।

उद्योगीले हरेक मञ्चमा यसबारे आवाज उठाउँदै आएका थिए। १५ वर्षको अध्याँरोपछि औद्योगिक क्षेत्र लोडसेडिङमुक्त बनेको हो। नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो। त्यतिबेला प्राधिकरणले ठाउँविशेष हेरेर साताको एक दिनमा एक घण्टा लोडसेडिङ गरेको थियो। प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो। अब भने औद्योगिक क्षेत्र लोडसेडिङमुक्त भएको छ।

२ वटा फिडरबाट ५÷५ मेगावाटका दरले विद्युत् आपूर्ति हुँदै आएको औद्योगिक क्षेत्रका उद्योगमा सोमबार साँझदेखि लोडसेडिङ भएन। साँझ ६ बजेदेखि दैनिक ४ घण्टा विद्युत् कटौती हुने बानी परेको औद्योगिक क्षेत्रमा सोमबार विद्युत् कटौती नहुँदा उद्योगी र कामदार चकित भए। औद्योगिक क्षेत्रभित्र ९० उद्योग सञ्चालनमा छन् भने ३० उद्योग निर्माणाधीन छन्।

पुरानो फिडरबाट ५ मेगावाट र कमानेको नयाँ फिडरबाट ५ मेगावाट गरी १० मेगावाट विद्युत् प्रवाह गरिए पनि दैनिक ९ मेगावाट मात्र खपत भएको थियो। उद्योग तीन सिफ्ट चल्न थालेपछि भने विद्युत् आपूर्ति बढाउनुपर्ने अवस्था छ।
‘अब औद्योगिक प्रतिष्ठानले तीन सिफ्ट नै उद्योग सञ्चालनको तयारी थालेका छन्,’ उद्योग संघ मकवानपुर उपाध्यक्ष लेखराज पोखरेलले एक दर्जनजति उद्योगले मात्र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी तीन सिफ्ट उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो।

प्राधिकरणले कमाने फिडरमा क्यापासिटर बैंक जडान नगरेका कारण एक महिनापछि भने विद्युत् आपूर्तिमा समस्या देखिनसक्ने उद्योग संघ अध्यक्ष नवराज अर्यालले बताउनुभयो। औद्योगिक क्षेत्रमा हाल खपत भइरहेको ५ केभीए विद्युत्मा थप १० केभीए बिस्तार गरी नयाँ थपिएका १५ उद्योग सञ्चालन गर्ने भनिए पनि प्राधिकरणको ५ केभीएमात्र आपूर्ति गर्ने व्यवस्था गरेको छ। सबै उद्योग सञ्चालनमा आए विद्युत् आपूर्ति थप गर्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्