इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कीर्तिमान १०० अंक



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन म्यानचेस्टर सिटीले कीर्तिमानी १०० अंक जोडेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा साउथ ह्याम्पटनलाई १–० गोल अन्तरले हराउँदै सिटीले लिगमा कीर्तिमानी १०० अंक जोडेको हो ।साउथह्याम्पटनको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ग्याब्रियल जिससले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा जेससले गरेको गोल नै सिटीको जितमा प्रयाप्त भएको थियो ।

यो अंकसँगै पेप ग्वार्डिवालाको सिटीले प्रिमियर लिगमा एकै सिजन १०० अंक बनाउने क्लबको कीर्तिमान बनाएको छ । प्रिमियर लिगको उपाधिसँगै सिटीले आगामी सिजनको च्याम्पियन्स लिगमा समेत स्थान पक्का गरेको छ । यो सिजन प्रिमियर लिगबाट स्वान्सी सिटि,स्टोक सिटि र वेस्ट ब्रुम रेलिगेसनमा पर्दै दोस्रो डिभिजनमा घटुवा भएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनलाई ४–० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ।

लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलांके र एन्ड्रेउ रोबर्ट्सनले गोल गरे । पाँचौ स्थानमा रहेको चेल्सीभन्दा अंक तालिकामा माथि अन्त्य गर्न लिभरपुललाई बराबरीमात्र काफी थियो ।

प्रतिक्रिया दिनुहोस्