सन्दीप आईपीएलमा पनि जमे



काठमाडौं, (नेस)
नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्न पाएका छन्। दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा सन्दीपले खेलेका हुन्। उनको टोली दिल्ली डेयरडेभिल्स ५ विकेटले हारे पनि उनको प्रदर्शनले सबैलाई प्रभावित गरेको छ। उनको यो आईपीएलमा डेब्यु समेत हो। योसँगै उनी आईपीएलमा खेल्ने पहिलो नेपाली क्रिकेटरसमेत बनेका छन्।

नेपाली स्पिनर सन्दीपले आफ्नो पहिलो खेलमै किफायती बलिङ गरेका छन्। बैंगलोरका कप्तान विराट कोहली र दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले दिल्लीका बलरलाई जमेर पिटाइ गरिरहँदा रन नदिनेमा सन्दीप एक्ला बलर बने। उनले ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए। उनको आईपीएलमा पहिलो सिकार बने पार्थिव पटेल। दोस्रो ओभरमा विकेट लिएका सन्दीपले पछिको ओभरमा विकेट हान पार्न सकेनन्। तर समग्रमा उनको पहिलो खेलमै प्रदर्शन राम्रो र≈यो। जबकी दिल्लीले उनलाई अघिल्ला ११ खेलमा खेलाएका थिएन।

सन्दीप मात्रै विपक्षी ब्याटसम्यानका लागि खतरा सावित भए। अरु बलर नचल्दा दिल्लीले १ सय ८१ रनको सुरक्षित योगफल पनि रक्षा गर्न सकेन। विराटको ७० रन र एबीको ७२ रनको इनिङले दिल्ली बैंगलोरसँग हारेको थियो। यो नवौं हारसँगै दिल्लीको जारी आईपीएलमा प्लेअफको सम्भावना पुरै समाप्त पनि भएको छ। तर सन्दीपले बाँकी दुई खेलमा राम्रो प्रदर्शन गरेमा अर्को सिजनको आईपीएलमा नेपाली क्रिकेटरको सम्भावना भइरहने आशा गर्न सकिन्छ।

सन्दीपसँग तुलना गर्ने हो भने कयौं अन्तर्राष्ट्रिय वान डे र टी २० मा बलिङ गरेका ट्रेन्ट बोल्ट, जुनियर डाला र अमित मिश्रा महँगो सावित भएका थिए। शनिबार दिल्लीको फिरोज शाह कोटला मैदानमा बोल्टले २ विकेट लिँदा ४० रन दिए। त्यस्तै डालाले ३ ओभरमा ३४ रन खर्चदा अमितले एक विकेट लिन ३३ रन दिएका थिए। जबकी हरशल पटेलले ४ ओभरमा ५१ रन दिएर एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्