शत्रु गतेले मनायो ५१औं दिन, कलेक्सन साढे १३ करोड, नाफा साडे ३ करोड



विदुर गिरी

मह सञ्चारद्वार निर्मित फिल्म शत्रु गतेले राजधानीका आधा दर्जनभन्दा बढी मल्टिप्लेक्स हलहरूबाट ५१औं दिन प्रदर्शनको रेकर्ड राखेको छ।

५१औं दिनसम्म सफलरूपमा प्रदर्शन हुन सफल फिल्मले देशभरबाट १३ करोड ५७ लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ। यसमध्ये हलको शेयर कट्टा गरी फिल्मका निर्माताहरूले आम्दानीको ३८ प्रतिशत रकम प्राप्त गर्नेछन्। निर्माताहरूको हातमा ५ करोड १५ लाख ६६ हजार रुपियाँ पर्नेछ।

फिल्म कुल १ करोड ८२ लाख रुपियाँमा निर्माण भएको थियो। तर, यसका निर्मातासमेत रहेका मुख्य कलाकारहरूका साथमा निर्देशक प्रदीप भट्टराईले आफ्नो पारिश्रमिक लिएका थिएनन्। यस हिसाबले आम्दानीबाट लगानी घटाउँदा निर्माताहरूले कुल ३ करोड ३३ लाख ६६ हजार मुनाफा कमाएका छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडल, किरण केसी, नरेन्द्र कंशाकार, दीपकराज गिरी, दीपाश्री निरौला निर्माता छन्।


फिल्मले भक्तपुरको वाराही, ग्वार्कोको गुण सिनेमा तथा काठमाडौंको बिग मुभिज, क्यूएफएक्स, अष्टनाराण, गोपीकृष्ण मुभिज र सिटीम्याक्स गरी कुल ८ हलबाट ५१औं दिन प्रदर्शनको रेकर्ड बनाएको छ। फिल्मले ५१औं दिन प्रदर्शनको रेकर्ड राख्न सफल भएको अवसरमा शनिबार ललितपुरमा एक समारोह गरी खुसीयाली बाँडेको छ। कार्यक्रममा फिल्मले ५१औं दिन प्रदर्शनको रेकर्ड कायम गर्न सफल हलका सञ्चालहरूका साथमा सहयोगी र सञ्चारकर्मीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा शत्रु गतेका कलाकारले नाचगान प्रस्तुत गरेका थिए। मह सञ्चारले लामो सयमपछि निर्माण गरेको शत्रु गतेले सफलता हासिल गरेपछि अर्को फिल्मसमेत निर्माण गर्ने तयारी अगाडि बढाएको छ। यसका लागि अहिले स्कृफ्ट लेखन कार्य भइरहेको छ। मह सञ्चारको नयाँ फिल्म आगामी भदौ महिनामा सुटिङ फ्लोरमा जानेछ।

प्रतिक्रिया दिनुहोस्