‘डेब्यू’ मा सन्दीपले प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सको जित निकाल्न सकेन



दिल्ली । नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको बैगलोरले कोहली र एबी डी भिलियर्सको अर्धशतकसँगै १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाउँदै जित हासिल गर्यो ।

जितले बैंगलोरको प्ले अफको सम्भावनालाई जीवित राखेका छ । डी भिलियर्सले अविजित ७२ र कोहलीले ७० रनको योगदान गरे । उनीहरुले तेस्रो विकेटका लागि १ सय १८ रनको साझेदारी गरेका थिए । ३७ बल खेलेका डी भिलियर्सले ६ छक र ४ चोका प्रहार गरे । ४० बल खेलेका कोहलीले ७ चौका र ३ छक्का प्रहार गरे । मन्दीप सिंहले १३, सरफराज खानले ११ रन बनाए ।

दिल्लाीका लागि ‘डेब्यू’ खेलमै प्रभावशाली प्रदर्शन गरेका सन्दीपले पार्थिव पटेल ९६ रन० लाई एलबिडब्लू आउट गरेका थिए । टोलीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहे । उनले ४ ओभर बलिङ गर्दै २५ रन बनाए । आफ्नो दोस्रो ओभरमा विकेट लिएका सन्दीपले पार्थिवसँगै कोहली, डी भिलियर्स र मोइन अलीविरुद्ध बलिङ गरेका थिए ।

दिल्लीका लागि ट्रेन्ट बोल्टले २ तथा हर्सल पटेल र अमित मिश्राले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित ४६ रन जोडे ।

३४ बल खेलेका रिसबले ५ चौका र ४ छक्का प्रहार गरे । अभिषेकले १९ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । प्ले अफबाट बाहिरिसकेको दिल्लीका लागि ओपनर जासन रोयले १२ र श्रेयस अय्यरले ३२ रन र विजय शंकले अविजित २१ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २, मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए । आइपिएलमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद तथा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्