१० प्रतिशत शेयर माग



लमजुङ, (नेस)
लमजुङमा निर्माण सम्पन्न भई उत्पादन शुरू गरेको जलविद्युत् आयोजनामा स्थानीयले १० प्रतिशत शेयर माग गरेका छन्। मस्र्याङ्दी गाउँपालिका– ८ भुलभुलेमा निर्माण गरिएको माथिल्लो मस्र्याङ्दी–‘ए’ जलविद्युत् आयोजनासँग स्थनीयले १० प्रतिशत शेयर पाउनुपर्ने माग गरेका हुन्।

उक्त जलविद्युत् आयोजना सरकोकार तथा समन्वय समितिमार्फत् स्थानीय युवाहरूले आयोजनाको शेयर माग गरेका हुन्। गाउँपालिकाका सबै वडाका करिब तीनसय युवाको समूह आयोजनाको भूलभूलेस्थित कार्यालयमा पुगी मागपत्र पेस गरेको सरोकार समितिका अध्यक्ष जितबहादुर गुरुङले बताउनुभयो।

उहाँका अनुसार युवाले आयोजनासँग विभिन्न २० बुँदे माग राखेका छन्। ‘आफ्नै दैलोमा बनेको आयोजनाको शेयर पाउनुपर्छ भनेर पटक–पटक आवाज उठायौं, सुनुवाइ भएन,’ मस्र्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष रवि थापाले बताउनुभयो। तर, यसपटक माग पूरा गराएरै छाड्छौं उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार आयोजनासँग सामाजिक दायित्वअन्तर्गत वार्षिक एक करोड रुपियाँ माग गरिएको छ।

त्यस बारेमा माथिल्लो मस्र्याङ्दी–‘ए’ को निर्माता कम्पनी सिनो सगरमाथा पावर कम्पनीमा सम्पर्क गर्दा दोभासे दयाराम दाहालले स्थानीयले २० बुँदे माग आयोजनामा प्राप्त भएको बताउनुभयो। सो मागपत्र मैले बुझेर राखेको बताउँदै उहाँले भन्नुभयो–‘आयोजनामा कार्यरत चाइनिजहरू बाहिर गएका छन्। उनीहरू २० दिनपछि मात्र आउँछन् होला, उहाँहरू आएपछि जानकारी गराउँछु भनेको छु।’ सन् २०१३ को जनवरीदेखि निर्माण शुरू गरी कुल १६ अर्ब रुपियाँको खर्चिएर एक वर्ष अघि उत्पादन थालिएको हो। उक्त आयोजनाको बाहुनडाँडा र भुलभुलेको सीमा ङादी दोभानमा बाँध बनाइएको छ। ५ दशमलव ३ किलोमिटर शुरूङ निर्माण गरी भुलभूले– ३ को मस्र्याङ्दी किनारमा निर्मित विद्युत् गृहबाट विद्युत् उत्पादन गरीएको छ।

माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना २०५२ मा प्रतियुनिट ५ दशमलव ९ सेन्ट अमेरिकी डलरमामा पीपीए भएको थियो। कुल ५० मेगावाट क्षमताको सो आयोजना सो आयोजना चीनको पावर चाइना रिसोर्सेस लिमिटेड (सिनो हाइड्रो रिसोर्सेस) र चितवन को– ई समूह (सगरमाथा पावर कम्पनी) ले निर्माण गरेको हो। उक्त आयोजनाले उत्पादित विद्युत् वितरणका लागि आफैंले प्रशारण लाइन बनाएको हो।

प्रतिक्रिया दिनुहोस्