मोदीको अस्वाभाविक यात्रा



विनोद नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन्। दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका उनको सन् २०१४ मा प्रधानमन्त्री पदमा आसीन भएयताको यो तेस्रो नेपाल भ्रमण हो। मोदीको भ्रमण द्विपक्षीय हितसहित आपसी सम्बन्ध मजबुत बनाउन साझेदारी विस्तार गर्न केन्द्रित हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भारतीय प्रधानमन्त्री मोदीको यसपटकको नेपाल भ्रमण अस्वाभाविक देखिएको छ। पहिलो त, मोदी भारतको पटनाबाट जनकपुर प्रवेश भएका छन्। यसैले उनको भ्रमण जनकपुरबाट प्रारम्भ हुने भएको छ। उनको स्वागतका लागि प्रदेश नं. २ को राजधानी जनकपुरमा भव्य तयारी भइरहेको छ। मोदीको आगमनको दिन उक्त प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।

मोदीको स्वागतलाई दृष्टिगत गरेर फोहोरको पर्याय बनेको जनकपुर शहरमा व्यापक सरसफाइ गरिएको छ। यति मात्र होइन, आ–आफ्ना घरका अगाडि सिँगारिएका कलश राख्न प्रदेश सरकारले स्थानीयलाई उर्दी दिएको छ। प्रदेश सरकारले उनको स्वागतमा जनकपुरको बाह्र बिघा मैदानमा ५० हजारभन्दा बढी नागरिक उपस्थित गराउने गरी योजना बनाएको छ। यता काठमाडौंमा पनि सिँगारपटार र सरसफाइ भइरहेको छ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई जनकपुरस्थित जानकी मन्दिरमा स्वागत गर्ने कार्यक्रम छ। मन्दिरमा विशेष पूजा अर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले नागरिक सम्मान गर्नेछ। सो समारोहलाई मोदी तथा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन काठमाडौं आएपछि मोदीलाई टुंडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति, उपराष्ट्रपति तथा विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

नेपाल तथा भारतका प्रधानमन्त्रीले काठमाडौंबाट स्वीच दबाएर अरूण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। मोदी २९ वैशाखमा मुक्तिनाथ दर्शनका लागि जानेछन्। त्यहाँ उनको अभिनन्दन गरिनेछ। त्यताबाट फर्केपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ, जहाँ मोदीले सम्बोधन गर्नेछन्। सोही दिन संयुक्त पत्रकार सम्मेलन गरिनेछ।

मोदीको मुक्तिनाथ र जनकपुरको यात्राको चाहना निकै अघिदेखिको हो। तर यसपटक यसको साइत जुरेको छ। तर मोदीको यो भ्रमण केही अस्वाभाविक जस्तो महसुस भएको छ। एउटा त विशेष परिस्थितिमा बाहेक मित्रराष्ट्रका उच्च पदस्थहरूको भ्रमण सम्बन्धित मुलुकको राजधानीबाटै प्रारम्भ हुन्छ। तर यसपटक मोदीको भ्रमण राजधानी दिल्लीबाट नभई सीमावर्ती शहरबाट हुन लागेको छ। नेपालतर्फ पनि सीमावर्ती शहर जनकपुर हुँदै भ्रमण हुन लागेको छ। धार्मिक शहर जनकपुरबाट प्रारम्भ हुने यात्रा मुक्तिनाथसम्म पुग्ने गरी कार्यक्रम रहेको छ।

यसैले काठमाडौंका लागि निर्धारित कार्यक्रम केवल औपचारिकता मात्र हुन् भन्ने ठानिएको छ। कतिपयले त पटनाबाट जनकपुर हुँदै काठमाडौं र मुक्तिनाथ पुग्ने कार्यक्रमले यो भ्रमण भारतकै कुनै प्रान्तको जस्तो बनाउन खोजेको भन्ने रूपमा पनि व्याख्या गरेका छन्। अझ राजधानीका हकमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कार्यालय, निवास वा कुनै सरकारी भवनमा नभई होटलमा भेट्न जाने कार्यक्रम बन्नुले सबैलाई थप आश्चर्यमा पारेको छ।

मोदी अहिले विश्वमै चर्चित नेता हुन्। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै लोकप्रियता हासिल गरेका उनी विश्वका प्रभावशाली व्यक्तिको हालै सार्वजनिक सूचीमा समेत शीर्ष १० मध्ये नवौं स्थानमा रहेका छन्।

उनको दल भारतीय जनता पार्टीले भारतका २१ राज्यमा आफ्नो एकल वा अन्य दलसँगको गठबन्धन सरकार सञ्चालन गरिरहेको छ। पूर्वोत्तरका राज्यहरूमा लामो समयदेखिको वाम सरकारलाई विस्थापित गर्न र आफ्नो हैसियत मजबुत बनाउन सफल भारतीय जनता पार्टीले अहिले दक्षिण तर्फका राज्यमा आफ्नो पकड बढाउन प्रयत्न गरिरहेको छ। उनी विश्वका विभिन्न मुलुकहरूको यात्रा गर्ने, शिखर सम्मेलनहरूमा सहभागी हुने तथा भारत र आफ्नो समेत उचाइ बढाउने प्रयासमा निरन्तर लागिरहेका छन्। यसैले विश्वमै चर्चित छन्। आफ्ना स्पष्ट दृष्टिकोण र लक्ष्य प्राप्तिका लागि अठोटका साथ लागिपर्ने उनको स्वभाव अनुकरणीय छ।

यसै गरी भारत विश्वको उदाउँदो शक्ति हो। ऊ विश्वको ध्यान आफूतर्फ आकृष्ट गर्न सफल भएको छ। नेपालको हकमा हाम्रो सन्दर्भमा भारतसँगको हाम्रो सम्बन्ध युगौंदेखिको हो।

हाम्रो सम्बन्ध विशिष्ट खालको छ। खुला सिमाना भएको तथा धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्बन्धका कारण हाम्रा दुई मुलुकबीचको सम्बन्ध आफ्नै खालको छ। भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीको र नेपालमा हुने राजनीतिक गतिविधिमा भारतीयको संलग्नता र चासो सबैलाई जानकारी भएकै विषय हो। हाम्रो राजनीतिक वा अन्य आन्तरिक मामलामा बेलाबखत भारतले हस्तक्षेप गर्ने गरेको वा खेल्ने प्रयास गरेको महसुस पनि हामीले गर्दै आएका छौं। यसै कारण बेलाबखत हाम्रो सम्बन्धमा उतारचढाव पनि आउने गरेको छ।

हामीले हाम्रा कुरा स्पष्ट राख्न नसक्ने र राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थका लागि भारतीय राजनीतिक नेतृत्वको आशिर्वाद खोज्ने प्रवृत्ति देखाउँदा हेपिनुपरेको अवस्था पनि छ। यसै गरी हाम्रा नेताहरूको द्वैधचरित्रका कारण पनि हामीले विभिन्न किसिमका अप्ठेरा भोगिरहनुपरेको छ। सीमाक्षेत्रमा उत्पन्न हुने विवादहरू, बेलाबखत हुने सीमा अवरोध, हाम्रा सामानलाई निरन्तर सहज ढंगमा प्रवेश नदिने अवस्था आदि पनि हामीले बेलाबेलामा भोगेकै हौं। अर्थात् हामीले भारतबाट लिनुपर्ने सहयोग लिन सकिरहेका छैनौं।

भारतसँग हाम्रा धेरै गुनासा छन्। तर, भारत हाम्रो ठूलो सहयोगी र दाता पनि हो। भारतको सहयोगमा धेरै काम भएका छन्, हुने क्रममा छन्। ‘प्रबुद्ध समूह’ले विगतका दुई मुलुकबीच विगतमा भएका सन्धि सम्झौतामा समयानुकूल सुधार र परिमार्जनका लागि अन्तिम तयारी गर्दै गरेको सन्दर्भमा असमान सन्धि सम्झौताको खारेजी र नयाँ आधारमा नयाँ सम्झौता गर्नेतर्फ ध्यान दिनु जरुरी छ।

विगतमा धेरै कुरा हाम्रो कमजोरीका कारण पनि भारतको पक्षमा भएका छन्। हामीले स्पष्टरूपमा बोल्न नसक्दा, हाम्रा गुनासालाई सशक्त ढंगमा उठाउन नसक्दा पनि कतिपय सन्दर्भमा हेपिनु, पेलिनुपरेको र लिन सक्ने लाभ लिन नसकेको अवस्था पनि छ। त्यो हाम्रो कमजोरी हो। यसका लागि भारतलाई दोष दिएर मात्र हुँदैन। आफ्नो कमजोरी पनि स्वीकार्नुपर्छ। सत्ता टिकाउन, गठबन्धन टिकाउन र पदका लागि चाकडी गर्नेजस्ता प्रवृत्तिले पनि हामीलाई कमजोर बनाएको हो, कतिपय अवस्थामा हस्तक्षेप नै पनि निम्त्याइएको हो।

यसैले हरेक कुरामा भारतलाई मात्र दोष दिएर हुँदैन, हाम्रो राजनीतिक नेतृत्वको कमजोरी पनि हेर्नुपर्छ। भारतीय प्रधानमन्त्री मोदीको आसन्न भ्रमणको सन्दर्भमा पनि हाम्रो नेतृत्वले एउटा स्वतन्त्र सार्वभौम मुलुकको हैसियतमा आफ्ना कुराहरू सशक्त ढंगमा उठाउनुपर्छ। राष्ट्रवादको ढोंग गर्ने र अस्वाभाविक किसिमको स्वागत सत्कार गर्ने प्रयास भएको भन्दै यसपालिको मोदी भ्रमणका क्रममा भइरहेका गतिविधिप्रति धेरैले असन्तुष्टि जनाएका छन्। तर एउटा मुलुकको सरकार प्रमुख आउँदै छन् भने उनको स्वागत सत्कार गर्नै पर्ने हुन्छ। त्यसलाई हेर्ने दृष्टिकोण जेसुकै भए पनि मुलुकले भोगिरहेका अप्ठेराहरूको अन्त्य गर्नका लागि प्रयास भयो र त्यसबाट केही हात पर्न सक्यो भने यात्रा अस्वाभाविक नै भए पनि उपलब्धिमूलक नै ठहरिनेछ।

प्रतिक्रिया दिनुहोस्