पाहुनाको शक्ति



अजिबको शक्ति हुन्छ पाहुनामा । राम्रै फुर्सद हुँदा सफाइमा जुट्न जाँगर चलाउन नभ्याउनेहरु पाहुनाका कारण क्षणभरमै बदलिन्छन् । घरमा पाहुना आउने सुनिश्चित भएपछि घर, कोठा, चौका सरसफाइमा जुट्छन् ।
 
हस्याङफस्याङ गर्दै सरसफाइ गर्ने अनि बनावटी हाँसोका साथ पाहुनालाई स्वागत गर्ने समग्र मुलुकबासीको खानदानी परम्परा हो ।
 
यस्तो परम्परा व्यक्तिसँग मात्रै होइन, देशैसँग जोडिने गर्छ । २÷४ दिनमा दक्षिण छिमेकबाट विशिष्ट पाहुना आउने रे⁄ त्यही भएर अहिले समग्र मुलुक ती पाहुनाको स्वागत् सत्कारमा जुट्या छ । उनी पुग्ने, बस्ने, घुम्ने ठाउँ चिरिच्याट्ट पार्न भ्याइनभ्याई छ । तराईतिरका निकै वरिष्ठहरु पनि कुचो र झाडु लिएर सडक र सार्वजनिकस्थल सरसफाइमा जुट्या सुनिन्छ ।
 
यता राजधानी, काठमाडौंमा पनि अरू बेला कानमा तेल हालेझैं देखिनेहरु नगरको सफाइमा ‘हाई अलर्ट’ भएको देख्दा धरहरा निकै छक्क पर्या छ । पाठकवृन्दले सार्वजनिकस्थलमा रङरोगन, सडक मर्मत, पिच गर्ने, पखाल्ने र सरसफाइका अन्य कार्य भएको देख्नुभयो भने नगर पदाधिकारीको प्रशंसा नगरे पनि हुन्छ । उनै पाहुना रिझाउन त्यसो ग¥या रे !
 
यस्तो देख्दा धरहरालाई लाग्छ, बरु नगर पदाधिकारी नभए पनि हुन्छ । विशिष्ट पाहुनाचाहिँ महिनैपिच्छे नेपाल आए हुन्थ्यो । पाहुना बरु सानै मुलुकका भए पनि हुन्छ । आखिर पाहुनामा त्यस्तो अद्भूत शक्ति हुँदो रहेछ ।

प्रतिक्रिया दिनुहोस्