सिन्डिकेट अन्त्य भएको दाबी



काठमाडौं , (नेस)
वर्षौदेखि जारी यातायात क्षेत्रको सिन्डिकेट समाप्त भएको छ। सरकारको सिन्डिकेट गर्ने निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरूले समेत सरकारको प्रस्ताव स्वीकार गरेपछि सिन्डिकेट अन्त्य भएको हो।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच भएको पाँचबुँदे सहमति भएको थियो। उक्त सहमतिलाई सोमबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको छ। मन्त्रालय र व्यवसायीबीच भएको सहमतिमा प्रचलित कानुनअनुसार एउटा मात्र सार्वजनिक सवारी भएका धनीले पनि यातायात सञ्चालन गर्न पाउने र सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अघि बढाउने सहमति भएको छ।

त्यस्तै यातायात व्यवसायीको संयुक्त आन्दोलन मुल समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रम फिर्ता लिने तथा यातायात क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन ३० दिनभित्र प्रतिवेदन दिने गरी व्यवसायीको प्रतिनिधिसमेत रहने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको छ।

सोमबारको पत्रकार सम्मेलनमा कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा जारी एकाधिकार अन्त्य भएको उल्लेख गर्दै त्यसका निम्ति व्यवसायीले सहयोग गरेको बताउनुभयो।

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदलको सुझावका आधारमा अघि बढ्छ भन्दै उहाँले यातायात व्यवस्थित हुने दाबी गर्नुभयो
त्यस्तै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सिन्डिकेट नभई आलोपालो प्रणालीका आधारमा यातायात सञ्चालन गरेको दाबी गर्दै महासंघ र यातायातका कुनै पनि संस्था खारेज नभएको बताउनुभयो।

उहाँले महासंघ र यातायात संस्थाका खाता बन्द गरिएकाले सोमबारदेखि भएका दुर्घटनाका घाइतेको उपचार व्यवसायीले नगराउने बताउनुभयो। व्यवसायीले भने सहमति भएका सबै बुँदा सार्वजनिक नगरिएको तथा नयाँ बसपार्क व्यवस्थित नभएकाले सडकबाट सेवा सुचारु गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्