सँगै मिलेर केही गरौं न, हुन्न ?



– निकिता पौडेल (अध्यक्ष, चलचित्र विकास बोर्ड)
बक्स अफिस सम्पूर्ण निर्माताको माग हो र नेपाली चलचित्र जगत्को आजको आवश्यकता हो। म थोरै बोल्ने र धेरै काम गर्ने स्वभावकि मान्छे हुँ। तर, बोल्न मात्र जानेकाहरूको भीडले मलाई पनि केही बोल्न बाध्य पा¥यो।
म महिला भएका कारण कुनै सहानुभूति चाहन्न। तर, एउटी महिलामाथि आफ्नो न्वारानदेखिको बल लगाएर लागिपरेका दाइहरू, अंकलहरू, बुबाहरूदेखि दया लागेको छ, चित्त दुःखेको छ। अनि मैले नभनेको मात्र होइन, सोच्दा पनि नसोचेको कुरा, ठ्याक्कै पत्याउने शैलीमा लेख्ने कला भएका केही भाइहरूदेखि झन् दया लागेको छ। नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई महत्त्वपूर्ण मैले कहिले पनि मानेकी छैन। माननीय सञ्चार राज्यमन्त्रीज्यूसँग मेरो भेट हुँदा मैले कुन दिन हिन्दी सिनेमाको पक्षमा बोलें? म यस्ता झुटा समाचारप्रति सञ्चार मन्त्रालयको पनि ध्यानाकर्षण गराउन चाहन्छु। र, यस्ता झुटा समाचार लेखाउन आफ्नो तन, मन र धन लगाउनेहरूलाई राम्ररी चिन्छु पनि।

आफ्नो कार्यकालमा बक्स अफिसको नामचाहिँ लिने तर गफ मात्र गर्ने, कामचाहिँ नगर्नेको राजनीतिक दौड पनि देख्दै छु। बा बा… कत्रो चलखेल? तर, म आफ्नो कार्यकाल यस्ता गफ र रेस्टुरेन्टहरूमा रातभर गरिने राजनीतिबाट अलग राख्न चाहन्छु। नेपाली सिनेमाप्रतिको मेरो लगाव, मेरो बुबा उद्धव पौडेलको समर्पण र हामी संलग्न संस्थाको योगदान, हिजो आएर व्यापार मात्र गर्ने तर ज्यादै बोल्न खप्पिस केही हल सञ्चालकले मूल्यांकन गरेको देख्दा हाँसो उठ्छ। म त्यस्ता व्यक्तिहरूलाई नेपाली सिनेमाको इतिहास र त्यसमा हाम्रो योगदान, बिनापूर्वाग्रह खोज्न अनुरोध गर्दछु। मलाई राम्रोसँग थाहा छ, यहाँ कोही राजनीतिक पार्टीमा योगदान दिएको विवरण बुझाउँदै विकास बोर्डमा अध्यक्ष हुन लाइन लागेका छन्, कोही बक्स अफिस लगाएको क्रेडिट आफैंले लिन मात्र मेरो विरोध गर्दै छन्। कसैलाई त म नजन्मिँदै उद्धव पौडेलसँग परेको झगडाको रिस पनि यही मौकामा पोख्नु छ। म सबैलाई एकमुष्ठ भन्न चाहन्छु, म यही क्षेत्रमा समर्पित सिनेमा साधक हुँ। मैले यही क्षेत्रमा केही गर्छु भनेर मिडिया प्रोडक्सनमा इन्टरनेसनल डिग्री लिएकी हुँ।

आफ्नो कार्यकालमा आफूले गर्ने सम्पूर्ण कार्ययोजना, त्यसको कार्यान्वयनको खाका र आफ्नो भिजन मैले नेपाल सरकारलाई स्पष्टरूपमा बुझाएकी छु। कसैको दबाब, डर धम्की वा प्रभावमा नपरी आफ्नो काम सम्पन्न गरेरै छाड्ने अठोट लिएर नै मैले यो जिम्मेबारी लिएकी हँु। म दिन–रात राजनीति गरेर, बेतालका गफ गरेर एक मिनेट पनि समय खेर फाल्न चाहन्न। आफ्नो कार्यकालभित्र बक्स अफिस पूर्णरूपमा लागू गराउनेलगायतका केही महŒवपूर्ण काम गर्न चाहन्छु। यो मेरो व्यक्तिगत रहरको कुरा मात्र होइन, नेपाल सरकारको नीति हो। त्योभन्दा ठूलो कुरा, बक्स अफिस सम्पूर्ण निर्माताहरूको माग हो र नेपाली चलचित्र जगत्को आजको आवश्यकता हो। याद राख्नुहोला, केही फुर्सदिला महानुभावको दाउपेचमा लागेर मेरो विरोध गरिरहँदा, बक्स अफिस लगाउन नदिने व्यक्तिहरूले यसको भरपुर फाइदा उठाइरहेका छन्। केही अनलाइन न्युज पोर्टल त्यस्ता व्यक्ति र समूहले जे भन्यो त्यही न्युज सम्प्रेषण गरिरहेका छन्। आफ्नो कलम त्यसरी कौडीको भाउमा नबेच्न अनुरोध गर्दछु। मेरो पक्षमा लेख्नु भन्न खोजेको होइन, खाली बुझेर लेखिदिनुहोला भन्न चाहन्छु। चलचित्र विकास बोर्ड नेपाली निर्माताको पक्षमा त छँदै छ, त्योभन्दा पनि माथि सम्पूर्ण नेपाली फिल्म इन्डस्ट्रीको उत्थान र उन्नतिमा समर्पित छ।

नेपाल सरकार बक्स अफिस लागू गर्न कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको कुरा माननीय मन्त्रीज्यूले मलाई पटक–पटक बताउनुभएको छ। त्यसैले बेकारको गफ र बेअर्थको राजनीतिमा खर्च गर्ने समय आफ्नो सिनेमाको स्क्रिप्ट, कास्ट, क्रियसन, क्रियटिभ आइडियामा खर्च गरौं। यसले नेपाली सिनेमाको स्तर बढ्छ। रात–रात भर शहरका रेस्टुरेन्टमा बसेर एक महिलालाई कसरी सिध्याउने भन्ने मिटिङ नबस्नुस्। यसको आवश्यकता नै छैन। म जीवनभर विकास बोर्डमा हुने होइन, तर जति समय रहन्छु, केही उल्लेख्य काम गरेरै छाड्छु। अब यो लेखको शब्द–शब्द केलाएर, अनेक अर्थ निकालेर मिटिङमाथि मिटिङ गरेर, थरी–थरी प्लान गर्ने कष्ट नगरिदिनुहोला प्लिज। सँगै मिलेर केही गरौं न, हुन्न? बरु भन्नुहोस्, सबै पक्षको हितका लागि हामी सबै एकै ठाउँमा कहिले र कहाँ बस्ने? चलचित्र विकास बोर्डको ढोका भने सबै विषयमा, सबैका लागि, सधैं खुला छ।

(फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्