‘जुटमिलको अनियमितताबारे छानविन हुन्छ’



नेपाल समाचारपत्र
विराटनगर
दुई महिना सञ्चालन भएर पुनः बन्द भएको विराटनगर जुटमिलको अनियमितताबारे छानविन हुने भएको छ।
जुटमिलको अनुगमनमा आउनु भएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जुटमिलमा भएको अनियमितताको विषयमा छानविन गरिने र त्यसपछि जुटमिल सञ्चालन गर्न पहल गर्ने बताउनु भएको हो।

पटक–पटक बन्द हुँदै सञ्चालन गरिँदै आएको देशकै जेठो उद्योग विराटनगर जुटमिल्स पुनः सञ्चालनमा आउने भएको छ। विराटनगर जुटमिलको स्थलगत अनुगमनमा आउनु भएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जुटमिलको खास समस्या समाधान गरेर जुटमिल सञ्चालनमा ल्याउने बताउनु भएको हो। तर, विगतमा भएका अनियमितता र भ्रष्टाचारको विषयमा छानविन गर्न समिति गठन गर्ने पनि मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो।

विराटनगर जुटमिलको सामान्य सञ्चालन गत कार्तिकको पहिलो सातादेखि गरिएको थियो। तर, विभिन्न प्रक्रिया पूरा नगरेको र शेयर घोटला भएको सार्वजनिक भएपछि मिल पुनः बन्द अवस्थामा छ। मिलको अनुगमनमा पुग्नुभएका मन्त्री यादवले कर्मचारी, नेता, मन्त्री आफैं घुस खाने भएका कारण सरकारी सम्पत्तिको दुरूपयोग भएको उहाँले बताउनुभयो। मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवकुमार मण्डलले मिल सञ्चालन गर्ने नाममा जुटमिलका सामान बेचेर खाने अपराधी भएको बताउनुभयो। मन्त्रिमण्डलले जुनसुकै पार्टीका नेता भए पनि सार्वजनिक सम्पत्तिमा रजाई गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताउनुभयो।

सञ्चालक समिति सदस्य किशोर शाहीले जग्गा अतिक्रमण भएको, मिलका सरसामान हराएको, कर्मचारीले तलब नपाएको, ८० लाख मालपोत, डेढ अर्ब विद्युत्को बक्यौता पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। बन्द रहेको जुटमिल सञ्चालन भए हजारौंले रोजगारी पाउने स्थानीयको भनाइ छ। जुटमिलका कतिपय बहुमूल्य सामान हराएको छ भने भवन तथा त्यहाँका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन्। सरकारले जुटमिल्स संचालन गर्ने विषयमा चासो देखाएको छ।

प्रतिक्रिया दिनुहोस्