लाज पचेकाहरू



शनिबार नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचन। तर पत्रकारको निर्वाचन हो होइन, भनेर धरहरा धेरै बेर अलमलमा प¥यो। प्रदेश नम्बर–२को माहोल देख्दा धरहरा अक्क न बक्क बन्यो। सो प्रदेशका कृषि तथा भूमिव्यवस्था मन्त्री शैलेन्द्र साह निर्वाचनमा मतदान गर्न पुगे, यसो चासो दिँदा त उनी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य रे।

त्यति मात्रै कहाँ हो र, संघीय समाजवादी फोरम नेपालका प्रदेश–२ का मुख्यसचिव शम्भु झाले पनि सप्तरी शाखाबाटै मतदान गरे। उनी विगतमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष र केन्द्रीय सदस्य रे। राजपा नेपालका
केन्द्रीय सदस्य अमरनाथ मण्डल, एमाले नेता सुखराम यादवले पनि चुनावी माहोल बनाउँदै मतदान गरे। अन्य जिल्लामा पनि खुलेआम नेता पत्रकार देखिए।

‘पत्रकार महासंघलाई राजनीतिबाट मुक्त गरिनुपर्छ, मुक्त बनाइने छ।’ –यस्तो वाक्य सुन्दा सुन्दा धरहरा थाकिसक्या छ। यातायात व्यवसायीको सिन्डिकेट र अन्य बेथितिबारे खुलेर विरोध गर्ने पत्रकारहरू आफै ऐना हेर्न बिर्सन्छन्, अनि ‘शुद्ध छु’ ‘शुद्ध हुँ’ भन्न छोड्दैनन्, लाज पचेकाहरू। युनियन, चौतारी, प्रेस सेन्टर र अन्य धेरैथरी आवरणका ऐना बजारमा सहज र सरल रूपमा उपलब्ध हुने भएपछि अझै वर्षौंसम्म पत्रकार महासंघ र मातहतका निकाय पवित्र हुने चान्स शून्य छ।

प्रतिक्रिया दिनुहोस्