किताबप्रतिको अगाध मोह



मोहन दुवाल
नै छँदादेखि नै किताबलाई माया गर्ने मेरो बानी संस्कारजस्तो भयो। यही संस्कारले नयाँ–नयाँ खालको किताब देखेपछि, पाएपछि अझ किन्न पाउँदा गौरव गर्ने मेरो स्वभाव बन्यो। मेरा बुबाको पनि जीवनको अन्तिम समय ८४ वर्षको उमेरसम्म किताब हेरेर अर्थात् किताबप्रति मोह गरेर नै अवसान भएको मलाई सम्झना आइरहन्छ। साहिँला दाइ हरिप्रसाद पनि किताबलाई माया गर्नेमध्ये पर्छन् र नयाँ–नयाँ किताब हेर्न पाउँदा खुशी हुने गर्छन्।

काहिँला दाइ कृष्णप्रसाद दुवाल प्रसिद्ध साहित्यिक पत्रकार, लेखक तथा एकजना पुस्तकप्रति प्रेम गर्दै आएका र सबैले चिनेका प्रतिबद्ध व्यक्तित्व हुन्। उनी पनि पुस्तक निकाल्न पाउँदा र नयाँ पुस्तक हेर्न पाउँदा खुशी व्यक्त गर्छन्। मलाई खुशी लाग्छ, किताबप्रति घृणा गर्ने कोही पनि व्यक्ति मेरो परिवारमा छैन भन्न पाउँदा म गौरव गर्छु। मेरी श्रीमती भारती र जेठी छोरी सिर्जनाले पनि पुस्तकप्रति निकै माया–मोह गर्ने गर्छन्। दुवैले पुस्तक पनि प्रकाशित गराएका छन्।

जस्तो आर्थिक सङ्कट पर्दा पनि पुस्तक किनेको मलाइ सम्झना छ। जहाँ पुग्दा पनि पुस्तक–पत्रिका बोकेर मात्र जाने गर्छु। कवि–लेखक तथा स्रष्टाहरूसँग भेट हुन्छ। उनीहरू मलाई पुस्तक दिन्छन्। म पनि ‘जनमत’ लगायत पुस्तकहरू दिन पाउँदा के–के गरेजस्तो गरी मन प्रफुल्ल बनाउँछु। म किताबको मोह भएको मान्छे, सधैँजसो म पुस्तकसँग मायाप्रीति साट्ने गर्छु। मेरो अस्तित्व र विम्ब भनेको नै पुस्तकसँग माया–मोह नै हो।

किताबप्रतिको मोहकै कारणले नेपाली भाषा र नेपालभाषा साहित्यका विशेष पुस्तकहरू मैले सङ्ग्रह गरेँ। नेपालका थुप्रै लेखकहरूसँग विविध सन्दर्भमा मेरो भेटघाट भइरहन्छ। उनीहरूले पनि आफ्ना नयाँ पुस्तकहरू उपहारस्वरूप दिइरहन्छन्। यसै गरी मेरो मन–मस्तिष्कमा किताबप्रतिको मोह झन्–झन् गहिरिँदै गएको हो। किताबप्रतिको मोहबाट प्रभावित हुँदै गएँ– मेरो घरमा किताब जम्मा हुँदै आयो।ं नयाँ–नयाँ किताब पाउँदा खुशी हुने मान्छे भएकोले धेरै संख्यामा किताबहरू जम्मा भयो।

अझ साहित्यिक किताबहरू त अनगिन्ती संङ्ख्यामा थुप्रो लाग्यो। मसँग भएका किताबहरू हेर्न मकहाँ थुप्रै साथीहरू आउन थाले। यसै सन्दर्भमा मैले भोगेका केही किताबका सन्दर्भका कुराहरू मात्र यहाँ समेट्न खोजिरहेछु। किताब लगेर नबुझाउनेहरू उदाहरणका केही विम्बहरू मात्र यहाँ उच्चारण गर्न खोजिरहेछु।

लामा दाइ, म तपार्इंलाई केही दिन पाहुना बनाएर पाल्छु तर किताब दिन्नँ। म किताबको सवालमा पीडित मान्छे, किताब धैरैले लगे तर फिर्ता आएनन्। यो सवालमा म हायलकायल बनेको छु।’

मोहन वैद्य ‘किरण’ अहिलेका चर्चित कम्युनिस्ट नेता, बौद्धिक व्यक्तित्व अझ भनौं कमरेड प्रचण्डका पनि गुरु मानिन्थे। मेरा चिनजानका आदरयोग्य पुराना मित्र अहिले राजनीतिक वृत्तमा उनको आफ्नो छुट्टै पहिचान छ। ३० सौं वर्षअगाडि यिनीसँग मेरो सम्पर्क भएको मलाई याद छ। उनले नै मलाई स्वयम्भुको जंगलमा ‘कमरेड’ बनाई कम्युनिस्ट पार्टीको सदस्यता बनाएका हुन्। मेरो पनि उनी कम्युनिस्ट गुरु। एकपल्ट घरमा मकहाँ उनी आउँदा मसँग भएका केही किताबहरू लगेका थिए, किनभने उनी पनि किताबकै किरो, किताबसँग माया–प्रीति जोड्न पाउँदा मख्ख हुने व्यक्ति। मलाई याद भएन, कुन–कुन किताब लगे। तर फर्काइदिएनन्। मैले मागिनँ पनि, तर किताब नफर्केकोमा सम्झना भइरह्यो।

डा. महेश मास्के मेरा मित्र अहिले उनी चीनका राजदूत छन्। उनी टिचिङ हस्पिटलमा सेवारत छँदा पुस्तककै लागि मेरो घरमा बरोबर धाइरहन्थे। पुस्तकहरू लगिरहन्थे र फिर्ता दिन आइरहन्थे। निकै मन परेको थियो डाक्टरसाहेबको बानी–व्यहोरा, तर पछिल्लोपल्ट उनी उच्च शिक्षाका लागि बेलायततिर गएपछि उनले लगेका केही पुस्तकहरू फिर्ता आएनन्। मेरो सूचीमा ती पुस्तकहरू थप्न सकिएन।

मेरो पुस्तक सूचीकै मर्यादाक्रम भङ्ग भयो।
वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको घर म गइरहन्थें। कहिलेकाहीँ कुनै–कुनै साहित्यिक संस्थाको बैठक पनि उनीकहाँ हुन्थ्यो। एकदिन कुरैकुरामा हृदयचन्द्रसिंह प्रधान ‘कुरा साँचो हो’ पुस्तक प्राप्त नभएकोले नयाँ संस्करणको पुस्तक निकाल्न नपाएको दुखेसो पोखें। उत्निखेर नै उक्त पुस्तक मसँग भएको जानकारी दिएँ। अप्राप्य पुस्तक फिर्ता दिने सर्तमा कृष्ण दाइलाई जिम्मा लगाएँ। साझाबाट नयाँ संस्करणको ‘कुरा साँचो हो’ पुस्तक प्रकाशित भयो तर मेरो पुस्तक प्राप्त भएन। पुस्तक हराएको वा के भएको हो, पुस्तक फिर्ता नभएको कुरा साँचो हो।
यस्ता अनगिन्ती पुस्तकका घटना–क्रमहरू छन्। नबताऊँ मन मान्दैन, मनको कुरो भनिदिऊँ कसैको मनमा ठेस लाग्ने डर।

तर सत्य भन्नै पर्छ ठानेर केही परिदृश्यभित्रका घटना–क्रमहरू उल्लेख गर्न साहस गरें।ं दिलसुन्दर श्रेष्ठ र सुवास श्रेष्ठ धुलिखेलका मेरा पुराना मित्रहरू, ‘वेदना’ प्रकाशित गर्दाताका उनीहरू दुवै जना मकहाँ आइरहन्थे र म पनि उनीहरूकहाँ पुगिरहने। हामीबीच एक–अर्कामा ‘वेदना’ पोखिरहने मात्र भएनौं धेरै कुरामा हामी एकाकार भई सङ्घर्षरत भयौं। थुप्रै कथा–प्रसङ्गहरू छन् यिनीहरूसँग बिताइएका र ती कथाका अंशहरू रोचक, स्मरण गर्नलायकका सङ्घर्षमय छन्।

‘वेदना’ प्रकाशित हुनुभन्दा अगाडि मेरै सम्पादनमा २०२७ सालतिर ‘विगुल’ पत्रिका निकाल्थें। त्यसताका देशभरबाट प्रगतिशील साहित्यिक सामयिक सङ्कलनहरू छ्यापछ्याप्ती निस्किन्थ्यो। मसँग मोटामोटी देशभरबाट प्रकाशित पत्रिकाहरू सङ्कलनमा थियो। एकपल्ट अध्ययन गर्छु भनी लगेका पत्रिकाहरू डेरा सर्दा कता–कता परे थाहा भएन भनी सुवास श्रेष्ठले भने। चुपचाप सहनु भन्दा अर्को विकल्प रहेन। इतिहासबाट म विमुखझैँ भएँ, याद आइरहन्छ ‘सामयिक सङ्कलनहरू’।

मञ्जुल र कुन्ता एकपल्ट घरमा आएका थिए। तिथि–मिति याद भएन। २०२९ सालको ‘विगुल’ १ प्रति मसँग थियो, १००० थान नै उक्त पत्रिका प्रेसबाट जफत गरी लगेको थियो। उक्त अङ्कमा राल्फाका धेरै गीतहरू प्रकाशित थिए। उक्त अङ्क एकपल्ट हेर्छु भनी लगेको र उनीहरूले त्यही बेला तरुण गार्ड र अन्य उपन्यासहरू पनि लगेका थिए। तर ती पुस्तकहरू फिर्ता भएनन्। किताबका मुहारहरू झल्झल्ती आँखामा आइरहन्छ।

बेनजिर भुट्टोको ‘द डटर अफ इस्ट’, नरोत्तम सिंहानुकको ‘माई वार विथ अ सीआईए’ लगायत पुस्तकहरू पनि यसै गरी एम्बुसमा परेको मलाई सम्झना छ, आफ्नै मान्छेले लगेकोले माग्न पनि सकिएन। थुप्रै–थुप्रै किताबसँग गाँसिएका कथाहरू छन्, सङ्क्षेपमा केही घटनाहरू मात्र सार्वजनिक गर्न रुचाइरहेछु।

किताबकै सम्दर्भमा एकपल्ट, चर्चित कम्युनिस्ट नेता निर्मल लामाले मलाई भनेका थिए– ‘दुवालजी, म तपाईंकहाँ किताबहरू अध्ययन गर्न आउँछु। मलाई आवश्यक परेका केही किताबहरू तपाईंकहाँबाट छ भने लिएर आउँछु।’ मैले प्रतिकार गर्दै भनें– ‘लामा दाइ, म तपार्इंलाई केही दिन पाहुना बनाएर पाल्छु तर किताब दिन्नँ। म किताबको सवालमा पीडित मान्छे, किताब धैरैले लगे तर फिर्ता आएनन्। यो सवालमा म हायलकायल बनेको छु।’ मेरो कुरा सुनेर लामा दाइले तत्कालै अर्को प्रश्न गर्नुभयो– ‘कसैबाट तपाईंले पुस्तक लिएर जाँदा तपाईं के गर्नुहुन्छ ?’ मैले भनें– ‘मबाट पनि त्यस्तै त हुने होला ! किनभने म पनि नेपाली परेंं।’ मेरो जवाफपछि लामा दाइ चुप रहे। विष्णुदेवी श्रेष्ठ मकहाँ आइरहने महिला मित्र। एकदिन उनले ‘प्यालेस्टाइन साहित्य’को एउटा किताब मसँग मागेर लान खोजे तर मैले दिइनँ र भनें– ‘मैले सकेको जे पनि दिन्छु तर किताबचाहिँ दिन्नँ।’ उनी रातो मुख लगाएर गइन्। विष्णुजीले के सोच्नुभयो, मलाई कस्तो विम्बमा मनमा राख्नुभयो, म झल्झली आज पनि सम्झिरहन्छु।

किताबसँग मोह भएकै कारणले युवा छँदा मैले थुप्रै ठाउँमा बनेपामा वाचनालय खोल्न जाँगर चलाएँ, तर स्थायित्व दिन सकिनँ। पुस्तकालय खोलें, दिगो ढङ्गले चलाउन नसक्दा मन खिन्न भएको सम्झना छ। अहिलेसम्म पनि थुप्रै ठाउँका पुस्तकालयहरूमा पत्रपत्रिकाहरू दिएको छु। धरान, महोत्तरी, ताप्लेजुङ, धादिङ, बुटवल, उदयपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आदि ठाउँका थुप्रै पुस्तकालयहरूमा पुस्तक दिएर सहयोग गर्न पाएको छु। मकहाँ आएर पुस्तक माग्नेहरूलाई, पुस्तकालय खोल्ने सर्तमा पुस्तकहरू दिएर पठाएको छु। तर कसैले दिगो ढङ्गले संरक्षित गरे, कोही कसैले आफ्नै घरभित्र पुस्तकहरू हुलेर धुजा–धुजा बनाए।

युवा अवस्थादेखि नै किताबप्रतिको मोहले आक्रान्त भएकै कारणले थुप्रै किताबहरू किनें। अभावग्रस्त छँदा पनि किताब किन्न छाडिनँ। त्यसताका साहित्यिक पत्रिकाहरूमा रूपरेखा, रचना, अभिव्यक्ति नयाँ देख्नासाथ किन्थें। साहित्यिक पत्रिका किन्ने सोख त २०२७ सालदेखि नै बानीजस्तो बन्यो। बजारमा आए जति साहित्यिक पत्रिकाहरू किन्थें। तर दुःखको कुरो, मजस्तो साधारण मान्छेले किताबलाई संरक्षित गर्न निकै गाह्रो हुँदो रहेछ। जम्मा भएका हज्जारौं–हज्जारौं साहित्यिक पत्रिकाहरू कसैलाई दिएर, पुस्तकालयमा बाँडेर सिध्याउनुपर्ने बाध्यता आयो। राख्ने ठाउँ छैन, सुरक्षित गर्ने आधार भएन। आफूले निकालेका जनमत पत्रिकाका अङ्कहरू, जनमत प्रकाशनका पुस्तकहरू र सम्पादन गरेका ग्रन्थहरूका केही–केही थान पत्रिका पुस्तक संरक्षित गरी राखिराख्न पनि गाह्रो भयो।

अहिले पनि मेरो मनमा किताबको मोह छ। किताबकै डङ्गुरभित्र नै सधैँ झैँ अलमलिन्छु। र, पुस्तक नै आदान–प्रदान गर्छु। तर के गर्ने, माया–प्रेम भएर पनि गतिलो ढङ्गले पुस्तकलाई म्वाइँ खान गाह्रो भयो। यो मेरो कष्ट भन्नै नहुने भए तापनि आज भन्न बाध्य भइरहेको छु अर्थात् भनिरहेछु। यही क्रममा मसँग भएका वाङ्मयका करिब ५ हजार थान पुस्तकहरू प्रदान गरेर काभ्रे बहुमुखी क्याम्पसको विशेष सहयोगमा जनमत वाङ्मय पुस्तकालयको स्थापना भएको छ। उक्त पुस्तकालय स्रष्टा पुस्तकालयको रूपमा र नेपालबाट प्रकाशित हुने विविध राष्ट्रभाषाका पुस्तकहरूको संकलन गरी भाषिक पुस्तकालयजस्तै बनाउने पनि धोको छ। यही त हो मेरो पुस्तकप्रतिको माया र मोह।

 

प्रतिक्रिया दिनुहोस्