सुकुल भोजमा सुन्दरी



मिस नेवाः को १३औं संस्करणका प्रतियोगीलाई नेवारी परिकार बनाउनेदेखि लिएर नेवारी लिपी लेख्नसम्म सिकाइएको छ।

हालै राजधानीमा आयोजित एक समारोहमा नेवार सुन्दरीहरूले नेवारी परिकार बनाउन सिक्दै पकाएर अतिथिहरूलाई खुवाए। सुन्दरीहरूले जाडोमा खाइने यमरीसहितका मौलिक परिकार पकाउँदै सुकुल भोज गरेका थिए।

सुन्दरीहरूले आफैंले चामलको पिठोमा तातोपानी राखेर मुछी चाकु र तिल मिसाइएको यमरीका साथमा खुवा यमरी, बारा, आलु, छोयला, द्याकागु ला, अचार पकाएर खुवाएका थिए। मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारहरूको कला र संस्कृति संरक्षण तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको तथा मौलिक मौलिक नेवारी परिकार बनाउने सीप नयाँ पुस्तामा हस्तान्रण गर्ने उद्देश्यले पाक कलासहित सुकुल भोज आयोजना गरेको बताइन्।

प्रतियोगीहरूमा टिम वर्कको भावना विकसित गर्न पनि पाककलाको कक्षा राखेको पूर्व मिस नेवाः सुनीता डंगोलले बताइन्। ‘नेवारहरू हरेक महिना एउटा वा दुईवटा चाड मनाउँछन्। भोज पनि भइरहन्छ। त्यसैले पाककलाको ज्ञान दिन पनि यो कार्यक्रम राखिएको हो’ –डंगोलले भनिन्।

प्रतिक्रिया दिनुहोस्