बुटीको कमाल



भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने भएपछि उनलाई स्वागत गर्न सरकार धुमधाम तयारीमा जुट्या छ। सुरक्षा प्रबन्ध, सरसफाइ र अन्य बन्दोबस्तीको तयारी भइरहेको सुनिन्छ। जनकपुर र मुक्तिनाथ क्षेत्रको सरसफाइ पनि भइरहेको छ रे।

जानकी मन्दिर र आसपासको सरसफाइका लागि अन्य दिनमा सडक सफा गर्नेहरू होइन, प्रदेश प्रमुख, मुख्यमन्त्री, सांसद, उप–महानगरपालिकाका मेयरलगायत कुचो र झाडु लिएर फिल्डमा उत्रिएको देखियो। घरमा पाहुना आउने खबर आएपछि हतारहतार घरका कोठा, चौका र दायाँ–बायाँ सरसफाइमा जुटैझैं सफाइमा खट्या छन्, सो क्षेत्रका भीआईपी।

यस्ता हस्तीहरू सरसफाइमा जुटेपछि वर्षौंपछि जनकपुरले मुहार फेर्ने कन्र्फम भयो। तर यी भीभीआईपी अन्य समयमा आफ्नै घर र क्वाटर सफा गर्न पनि भ्याउँदैनन्। आफैं भीभीआईपी भएपछि केको कुचो अनि झाडु, कहाँ हुन्छ किचनको डाडु यिनलाई थाहा हुँदैन। तर ‘मोदी मन्त्र’ अजिबकै रहेछ, यी भीभीआईपी रातारात बदलिएका छन्।

अर्को साता जनकपुर पुग्ने मोदीले जनकपुर लक्षित ‘सञ्जीवनी बुटी’ छर्ने प्रवल सम्भावना छ रे। त्यस्तो सम्भावना सुन्दा मात्रै पनि हाम्रा भीभीआईपी तत्कालै बदलिन तयार हुन्छन् भने झन हातैमा ‘बुटी’ पाए भने अवस्था कस्तो होला, धरहरालाई धेरै खुलदुली लाग्या छ।

प्रतिक्रिया दिनुहोस्