टर्कीमा नेपालको प्रस्तुति



सांस्कृतिक आदान–प्रदान गरी नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको एभरेस्ट नेपाल कल्चरल ग्रुपले टर्कीको चनाक्काले शहरमा आयोजित अन्तर्राष्ट्रिय बालबालिका लोक सांकृतिक मेलामा नेपालको तर्फबाट आफ्नो प्रस्तुति देखाएको छ।

१ हजारभन्दा बढी बालकलाकारले भाग लिएको मेलामा नेपालसहित विश्वका २० राष्ट्रका ३५ समूह सहभागी थिए। ग्रुपका प्रमुख आरसी कोइरालाको नेतृत्व तथा निर्देशक शीतल आचार्यको संयोजनमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो। मेलामा नेपालका तर्फबाट झ्याउरे, तामाङ, मारुनी, धिमाल, सोरठीका साथै दर्जनौं नृत्य प्रदर्शन गरिएको कोइरालाले बताए।

मेलामा नृत्य निर्देशक जोगेन्द्र केसी तथा लालीगुराँस विद्यालयका तर्फबाट विद्यार्थीहरू जेनिश तामाङ, रुबी परियर, खुसी रामदाम, सृष्टि देवकोटा, हिमानी थापा मगर, प्रतिशा लाम, छोदेन लामा, युद्धजंग थापा मगर, सोनिका बस्तोला, सुबिका महर्जन, ईशा सुनुवारलगायतका बालकलाकार सहभागी थिए। टर्कीको बाटोघाटो, घरघर र हरेक चोक चोकमा राष्ट्रिय झण्डै झण्डा देख्दा सहभागी बालबालिकाले हाम्रो देशमा किन हाम्रो राष्ट्रियता र राष्ट्रिय झण्डालाई टर्कीमा जसरी प्राथमिकता नदिएको भन्ने जिज्ञाशा राखेको कोइरालाले बताए।

मेलामा सहभागी कतिपय राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथाको नाम सुने पनि कहाँ पर्छ र बुद्ध जन्मिएको ठाउँ भन्ने पनि थाहा नपाएको पनि उनले बताए। मेला टर्कीको चनाक्काले नगरपालिकाले आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्