घामपानीपछि गोपी



पत्रकार दीपेन्द्र लामाले डेब्यु निर्देशनमै हिट फिल्म घामपानी बनाएपछि दोस्रो फिल्मका रूपमा गोपी बनाउने भएका छन्।

राजधानीमा बुधबार आयोजित एक समारोहबीच आरोही इन्टरटेनमेन्टको ब्यानरमा आरोही केसीको निर्माण र श्रीधर पौडेलको कार्यकारी निर्माणमा गोपी नामक फिल्म निर्माणको घोषणा गरिएको हो। पछिल्लो समयमा पत्रकारहरूले निर्देशन गरेकोमध्ये दीपेन्द्रले निर्देशन गरेको घामपानीले बाजी मारेको थियो। घामपानी गत वर्षको हिट फिल्मको सूचीमा पर्न सफल भएको थियो।


देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथावस्तुमा आधारित फिल्ममा कथा निर्देशन लामाकै रहनेछ भने पटकथा सामिप्यराज तिमल्सिना, छायांकन शैलेन्द्र डी कार्की र सम्पादन निमेश श्रेष्ठको रहनेछ। फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरेलगायत प्रमुख कलाकार रहनेछन् भने अन्य कलाकार चयन गर्न बाँकी रहेको निर्देशक लामाले बताए।

‘यो कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि वर्तमान समयमा स्वदेशमै सपनाको खेती गर्ने युवाप्रति समर्पित फिल्म हो’, निर्देशक लामाले भने– ‘दर्शकलाई मनोरञ्जनका साथै केही प्रेरणा, आशा र केही ऊर्जा दिन फिल्म सफल हुने विश्वास हामीले लिएका छौं।’ कार्यक्रममा खगेन्द्र र सुरक्षाले कथावस्तु राम्रो भएकाले आफूहरूले अभिनय गर्न लागेको दाबी गरे। फिल्मको छायांकन भने आगामी भदौबाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्