अज्ञात समूहद्वारा एकैरातमा ३ हजार केराको बोट सखाप



कृष्ण आचार्य, चितवन

चितवनका किसानले लगाएको ३ हजारभन्दा बढी केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ। कालिका नगरपालिका–६ भटेनी नयाँ टोलमा स्थानीय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले सोमबार राती नष्ट गरिदिएको हो।

अज्ञात समूहले रातको समयमा छानिछानि किसानको केरा बगान नष्ट गरेको छ।सोही ठाउँको मकैमा समेत क्षति पुर्याएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका जानकारी दिनुभयो। केरा काटेर नोक्सान गर्नेहरू पत्ता लगाएर कारबाही गर्न प्रहरीमा उजुरी दिइएको पन्तले बताउनुभयो। नियोजित रूपमा ‘किसानलाई दुःख दिने र सताउने उद्देश्यले भएको यो काममा संलग्न जो कोहीलाई कारबाही हुनुपर्छ र नोक्सानको क्षतिपूर्ति किसानले पाउनुपर्छ,’ उहाँले भन्नुभयो–‘प्रशासनले चाँडोभन्दा चाँडो दोषीलाई कारबाही गरोस्।’

स्थानीय कोपिला दाहालको सबैभन्दा धेरै १२ सय बोट नष्ट गरिएको छ। आफूले १० कठ्ठा खेतमा १४ सय बोट केरा लगाएको दाहालले बताउनुभयो। जसमध्ये १२ सय बोट काटेर नष्ट गरिएको छ।‘मेरो त बेच्ने अवस्थामा पुगेका केरा काटिएको छ। बोटमात्रै नभई फल नै काटेर बेच्नै नमिल्ने बनाइएको छ,’ उहाँले भन्नुभयो–‘कसले केको रिस फेरेको हो ज्यान समेत कामेको छ।’

त्यस्तै शोभा भट्टको ६ सय बोट, झलक सुवेदीको ३ सय, नवराज धितालको १ सय ५०, शंकर अम्गाईको २ सय ५०, देवीप्रसाद गोतामेको ५०, धु्रव आचार्यको ३५, गोपी लामिछानेको २ सय, गोविन्द दाहालको ५०, लीला पंगेनीको १ सय ५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा पूर्ण रूपमा नष्ट भएको छ।

फलेका केरा काटेर केरा नष्ट गर्नु सूनियोजित घटना भएको भन्दै दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न किसान खिला शर्मा भट्टले माग गर्नुभयो। उहाँले भन्नुभयो–‘एक बोट केरा काट्नु एउटा मान्छे काट्नु बराबर हो, यस्तो अपराध गर्नेलाई कडा कारबाही गरियोस्।

उनले आफूले लगाएको ६ सय बोट केरामध्ये ३ वटामात्रै बाँकी रहेको बताउनुभयो। केही दिन अघि सो क्षेत्रवाट लागु पदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको समूहबाट नै केरा फडानी गरेको हुनसक्ने स्थानीयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्