नृत्य निर्देशक शाहलाई रथारोहणसहित सम्मान



नृत्य निर्देशक, फिल्म निर्देशक तथा फिल्म सम्पादक राजु शाह रथारोहणसहित सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय नृत्य दिवसका अवसरमा नेपाल चलचित्र नृत्य संघ र सांस्कृतिक संस्थानले आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको अन्तर्राष्ट्रिय नृत्य दिवस तथा सम्मान कार्यक्रमअन्तर्गत शाहलाई रथारोहणसहित सम्मान गरिएको हो।

शाह र उनकी पत्नी सुधाश्रीलाई राष्ट्रिय नाचघरबाट घन्टाघर, रत्नपार्क, दरबार हाइस्कुल हुँदै पुनः नाचघरमा रथमा राखेर नगर परिक्रमा गराई सम्मान गरिएको थियो। र्यालीसहितको रथारोहणमा नृत्य निर्देशक तथा कलाकर्मीहरू नृत्य गर्दै अगाडि बढेका थिए। कार्यक्रममा प्रमुख अतिथि अग्रज नृत्य निर्देशक भैरवबहादुर थापाले शाहलाई सम्मान गरेका थिए। शाहको सम्मानमा उनको व्यक्तित्व र योगदानबारेको भिडियो प्रस्तुतिसमेत देखाइएको थियो। कुमारी नृत्यबाट शुरू भएको कार्यक्रममा लोक तथा आधुनिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नायकद्वय रमेश उप्रेती र दिलिप रायामाझीका साथमा सुरज प्रजापति, पूर्णिमा लामा, सारिका घिमिरेलगायतले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपालका फरक–फरक जाति र क्षेत्रका फरक–फरक नृत्य भएकाले ती नृत्यलाई संरक्षण र प्रबद्र्वन गर्नुपर्नेमा जोड दिए। त्यसैगरी संघका महासचिव महेश गोदारले नृत्य दिवसबारे चर्चा गरेका थिए भने अध्यक्ष दिनेश पाख्रीनले नेपालका विभिन्न नृत्यलाई चलचित्रमार्फत संरक्षण गर्दै आएको बताए।

नाचघरका आधादर्जन कलाकारको लोकनृत्य, बज्रकला कुञ्जको कलाकारको नेपाली चर्या नृत्य तथा मनोस्टिक पब्लिक स्कुलका कलाकारको झोरा नृत्य, एभरेष्ट डान्स क्रुले प्रस्तुत गरेको बीबोईङ डान्सले कार्यक्रम नृत्यमय बन्न पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्