६५ मेट्रिक टन चिनी गोदाममा थन्कियो



नेपाल समाचारपत्र
विराटनगर
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा अत्याधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ। चिनीको मूल्य प्रतिकिलो ८२ रुपियाँ राखेका कारण साल्ट ट्रेडिङको चिनी बिक्री नभएको हो।

उक्त चिनी भारतबाट दशैं अगाडि एक प्रतिशत भन्सार तिरेर ल्याइएको थियो। एक प्रतिशत भन्सार तिरेर ल्याउँदा पनि अहिलेसम्म करिब २ सय बोरा चिनी मात्र बिक्री भएको साल्ट ट्रेडिङका कर्मचारीले जानकारी दिएका छन्।

दशैंको बेला दशैं सहुलियत भन्दै ५ रुपियाँ प्रतिकिलो सस्तो गरी ७७ रुपियाँमा बिक्री गर्न खोज्दा पनि चिनी बिक्री नभएको साल्ट ट्रेडिङ कर्पोरेसन विराटनगरले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य अहिले घटेर ३ सय २० डलर प्रतिमेट्रिक टन पुगिसकेको छ। यस हिसाबले पनि साल्ट ट्रेड्रिङ कर्पोरेसनको चिनी बिक्री हुने सम्भावना अत्यन्त न्यून छ। सरकारले भने साल्ट ट्रेडिङ र नेपालका चिनी मिलको चिनी बिक्री नभएको भन्दै भन्सार महशुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएको छ।

चैत १ गतेयता विराटनगर भन्सार नाका भएर पाकिस्तानबाट करिब १० हजार ७ सय ४४ मेट्रिक टन सस्तोको चिनी आयात भएको छ।

यसैबीच कारोबार मूल्यमा भन्सार महशुल तिर्न पाउनुपर्ने माग गर्दै आयातकर्ताले भन्सार यार्डको गोदाममा चिनी थन्क्याएका छन्। विराटनगर भन्सारका अधिकृत फणिन्द्र खतिवडाले १० कन्टेनर चिनी यार्डमा थन्क्याइएको पुष्टि गर्नुभयो। हाल थन्क्याइएको १० कन्टेनर चिनी व्यवसायी दिनेश राठीको हो। भन्सार बिन्दूमा चिनीको कारोबार मूल्यमा भन्सार महशुल तिर्न नपाए चिनी छुटाएर नल्याउने व्यापारीले चेतावनी दिएका छन्। विराटनगर नाकाबाट अब चिनी छुट्न नसक्ने दाबी गर्दै उनीहरूले सरकारले जबर्जस्ती कायम गरेको चिनीको भन्सार मूल्य तुरुन्त सच्याउन आग्रह गरेका छन्। चिनीमा लाग्ने भन्सार महशुललाई सरकारले गत हप्ता दोब्बर वृद्धि गर्दै ३० प्रतिशत बनाएको थियो।
चिनी उत्पादक संघले गत भदौ महिनादेखि नै चिनीको भन्सार महशुल ५० प्रतिशत गर्नुपर्ने माग गर्दै आएको थियो। सरकारले चिनी उद्योगलाई संरक्षण गर्नुपर्ने तर्क दिँदै भन्सार महशुल र मूल्यांकनमा वृद्धि गरेको हो।

युवराज खतिवडा अर्थमन्त्री भएपछि सरकारले भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य सूची प्रतिटन ४ सय ६० अमेरिकी डलर कायम गरेको छ। तर, पैठारी भइरहेको चिनी प्रतिटन ३ सय २० देखि ३ सय ६० डलरसम्म परेको व्यवसायीको दाबी छ। विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरका अनुसार विराटनगर भन्सारमा अबको दुई हप्ताभित्र कम्तीमा १ सय ५० कन्टेनर चिनी आउनेवाला छ। यो चिनी व्यवसायीले छुटाएनन् र यार्डको गोदाममै राखे भने ठूलो जटिलता उत्पन्न हुनसक्नेछ।

सरकारले चिनीको भन्सार महशुललाई दोब्बर बढाएपछि महासंघका केन्द्रीय सदस्य अविनाश बोहराको नेतृत्वमा विराटनगरका व्यवसायीहरू विराटनगर भन्सार कार्यालय पुगेका थिए। व्यवसायीले चिनीको कारोबार मूल्य प्रतिटन ३ सय २० देखि ३ सय ६० अमेरिकी डलर रहेको जानकारी दिँदै भन्सार प्रयोजनका लागि परल मूल्य कायम गरिदिन आग्रह गरेका थिए।‘तर भन्सार कार्यालयबाट सकारात्मक उत्तर नपाएपछि उनीहरूले चिनी नछुटाउने र भन्सारको गोदाममै थन्क्याइदिने निर्णय गरेका छन्।

चिनीको भन्सार महशुलमा वृद्धि भएको एक सातापछि विराटनगरमा चिनीको खुद्रा मूल्य प्रतिकिलोग्राम २ देखि ४ रुपियाँले वृद्धि भएको छ।केही पसलले खुद्रा प्रतिकिलोग्राम ६८ मा बिक्री गरिरहेकामा अहिले ७० रुपियाँ बनाएका छन्। कुनै–कुनै पसलमा ७२ रुपियाँसम्म पुगेको छ। भन्सार महशुलमा वृद्धि भए पनि चिनीको मूल्यमा वृद्धि नहुने दाबी सरकारी पक्षले गरेको थियो। तर सरकारी दाबीका विपरीत चिनीको मूल्यवृद्धि शुरू भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्