दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने



सोल । दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ ।

सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ । सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो ।

गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसारको काम पनि नगर्ने जनाएका थिए ।

सोही सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाउने जनाएको हो । आगामी मे १ देखि नै सीमा क्षेत्रमा उक्त संयन्त्र सीमा क्षेत्रमा नराखिने जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ ।

शुक्रबारको उक्त पानमुनजोम सम्झौताको पालना गर्ने पहिलो पहलस्वरुप सो संयन्त्र हटाउने निर्णय गरिएको दक्षिण कोरियाले जनाएको छ ।

गत शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ता र सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको बताइएको छ ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौँं तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुँदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो ।

त्यसयता भएका शान्तिका पहलहरुले सार्थकता पाउँदै गएको देखिएको छ । कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन् ।

कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ ।

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ ।

प्रतिक्रिया दिनुहोस्