३३ किलो सुन गायब र सनम हत्या प्रकरण: डिएसपी पक्राउ, एसएसपी अझै फरार



काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा महानगरिय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय मोरङले केसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको छ । टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी थुनामा छन् ।

तर उनीहरुलाई बिराटनगर पठाउने र घटनाको कमाण्डर गरेका महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालय तानिए पनि पक्राउ परेका छैनन् ।डिएसपी केसीको बयानपछि एसएसपी लोहनी पनि अब पक्राउ पर्ने  संभावना बढेर गएको छ । किनकी यो प्रकरणमा तल्लो प्रहरीले आफुभन्दा माथिल्लो प्रहरी अधिकारीको आदेश पालना गरेको हुँदा डिएसपी केसी पछि एसएसपी लोहनी पक्राउ पर्ने अवस्था देखिएको हो। पक्राउ पर्ने डरले एसएसपी लोहनी भने माओवादीका नेताहरुमार्फत समितीलाई दबाब दिन थालेका छन् । लोहनीले एक भिआईपी दलाललाई प्रयोग गरी पुर्व गृहमन्त्री जनार्दन शर्मामार्फत गृहमन्त्री रामवहादुर थापालाई दबाब दिन थालेको स्रोतले वतायो ।

लोहनीले आफ्नो मातहतका प्रमुख पुर्व एआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन आईजीपी प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पठाएका थिए । जसका कारण अन्तिममा आदेश दिने पुर्व अाईजीपी प्रकाश अर्याल पनि शंकाको घेरामा परेका छन् । एसएसपी लोहनीले सुरुमा समिती समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए ।

महाशाखाबाट विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गरेको थियो । तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद र ठुलो आर्थिक चलखेलका रुपमा हेरिएको छ । गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो ।

मुख्य तस्कर गोरे भन्ने  चुडामणि उप्रती फरार छन्। प्रहरीले नै गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ। समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी गोबिन्द निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो । खत्री फरार छन् भने हत्या र तस्करीमा संलग्न नरहेका तर गोरेसँग फोन कनेक्सन रहेको आधारमा निरौला र खनाल अहिले मोरङ प्रहरीको हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्