गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज



नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् ।

नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् ।

लिवर्ड नेपालको सहकार्यमा स्थापना गरिएको उक्त बैंकमा स्थानीय जातका विभिन्न प्रजातिका करीब ९१६ प्रकारका बीउ राखिएको छ । विसं २०६८ मा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैंकले २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा आठ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माण गरी स्थानीयवासीलाई सेवा दिँदै आइरहेकाले बीउबिजनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको स्थानीयवासी हरिजन चौधरीको भनाइ छ ।

पर्याप्त मात्रामा गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन थालेपछि बीउ बैंकको महत्व पनि बढ्दै गएको छ । पहिले बीउ किन्न टाढाटाढा जानुपर्ने बाध्यता रहे पनि बीउ बैंक स्थापनापछि किसानलाई निकै सहज भएको स्थानीय कृषक लक्ष्मी सुवेदी बताउनुहुन्छ ।

बैंकले स्थानीयस्तरमा राम्रो प्रभाव पार्दै गएको र बीउ बैंकका लागि आवश्यक बीउ स्थानीयवासीबाटै लिने भएकाले पनि उनीहरूलाई यसबाट थप सहयोग मिलेको बीउ बैंकका अध्यक्ष पार्वती भण्डारी उल्लेख गर्नुहुन्छ ।

किसानका लागि आवश्यक पर्ने बीउबिजन यस बैंकले उपलब्ध गराउन थालेपछि उहाँका किसान पनि खुशी भएका छन् । किसानले यस बैंकबाट उपलब्ध बीउको प्रयोग गरेपछि उनीहरुको उत्पादन पनि राम्रो भएको छ ।

अहिले किसानले आफूले उत्पादन गरेको बीउ आफूलाई आवश्यक पर्ने जति राखेर बढी भएको बीउ बैंकमा बेच्न ल्याउने भएकाले स्थानीय जातको बीउको पनि संरक्षण भएको छ ।

गाउँमा नै बीउ अभाव हुन नदिनका लागि शुरु गरिएको यस बैंकले साविक अग्यौली गाउँ विकास समितिका नौवटै वडासहित नवलपुर जिल्लामा आवश्यक बीउ उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्