प्रत्येक वर्ष दोब्बरले बढ्दै सवारीसाधनको आयात



नेपाल समचारपत्र
काठमाडौं
नेपालमा सवारी साधनको आयात पछिल्लो तीन वर्षमा दोब्बर बराबरले वृद्धि भएको तथ्यांकमो देखिएको छ। आर्थिक वर्ष २०७१÷७२ मा करिब ४९ अर्ब रुपियाँ बराबर रहेको सवारी साधनको आयात बढेर गत आर्थिक वर्षमा ८० अर्ब बराबर पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा मुलुकले गरेको कुल आयातमा सवारी साधन र स्पेयर्सपार्टस आयातको हिस्सा ७ दशमलव ३० प्रतिशत रहेको छ। मुलुकले बढी आयात गर्ने वस्तुको सूचीमा सवारी साधन चौथौ स्थानमा छ। गत फागुन मसान्तसम्ममा ५५ अर्ब ८९ करोड ९६ लाख ८८ हजार रुपियाँ बराबरको सवारी साधन आयात भएको छ। यस अवधिमा नेपालबाट ८ करोड १८ लाख रुपियाँ बराबरको निर्यात भएको छ भने सवारी साधनको व्यापारमा मात्र मुलुकलाई ५५ अर्ब ८१ करोड ७६ लाख रुपियाँ बराबरको व्यापारघाटा भएको छ।

आर्थिक वर्ष २०७१÷७२ मा ३८ अर्ब ९५ करोड ४९ लाख रुपियाँ बराबर रहेको सवारी साधनको आयात आर्थिक वर्ष २०७२÷७३ मा ३७ प्रतिशतले बढेर ५३ अर्ब २३ करोड ७ लाख रुपियाँ पुगेको भन्सार विभागको तथ्यांकमा छ। त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ तुलनामा गत आर्थिक वर्ष २०७३÷७४ मा सवारी साधनको आयात ३७ दशमलव ६ प्रतिशतले बढेर ७९ अर्ब ४९ करोड ९४ लाख बराबरको आयात भएको देखिन्छ। गत आर्थिक वर्ष नेपालबाट ५ करोड रुपियाँ बराबरको सवारी साधन निर्यात भएको भन्सार विभागले जनाएको छ।
यो तथ्यांक बस, ट्रक, चारपांग्रे तथा दुईपांग्रे सवारी साधन आयातको मात्र हो।

हवाई, जल, निर्माण सवारी साधन र रेलको तथ्यांक भने फरक छ। यसमा रेलसँग सम्बधित सवारी तथा त्यसका पाटपूर्जाको आयात भने समेटिएको छैन। गत आर्थिक वर्षमा ८७ लाख रुपियाँ बराबरको आयात भएको छ। हवाई यातायातसँग सम्बन्धित सवारी साधन र तिनका पार्टपूर्जाको आयातमा गत आर्थिक वर्षमा मुलुकबाट १९ अर्ब ६२ करोड ५१ लाख रुपियाँ बाहिरिएको छ भने चालू आर्थिक वर्षको आठ महिना अवधिमा ७ अर्ब ५४ करोड ५० लाख रुपियाँ बराबरको आयात भएको छ।

पानीजहाज, ढुंगाजस्ता जल सवारीका लागि गत आर्थिक वर्षमा १ करोड १५ लाख रुपियाँ र चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५५ लाख ३५ हजार रुपियाँ बराबरको आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्