ओलीले ‘केटाकेटी’ भनेर हेपेपछि प्रचण्डले चित्त दुखाए



काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादीका नेता कार्यकर्तालाई ‘केटाकेटी’को संज्ञा दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्त दुखाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले शनिबार बिहान आफू निकटका केही सीमित नेताहरूसँगको भेटवार्तामा ‘केटाकेटी’ शब्दप्रति असन्तुष्टि जनाएका हुन् । दुई दिन अगाडि ओलीले पुष्पलालको फोटो देख्न नसक्ने माओवादीका नेता कार्यकर्ता ‘केटाकेटी’हरू भनेर आलोचना गरेका थिए । ओलीको त्यो शब्दावलीले प्रचण्डको मुन देखेको हो ।

नेताहरूसँग ‘पार्टी एकीकरण हुने तयारीमा छौँ, ओलीजीले ‘केटाकेटी’ भन्ने, कहीले के भन्ने गरेर हाम्रा कार्यकर्ताको मन दुखाउनुभएको छ’ अध्यक्ष ादहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो । माओवादीको सहायक संगठन वाइसीएलले पनि ओली र एमालेका नेताहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

एमाले र माओवादी केन्द्रबीच विवादित विषयमा सहमति जुट्न नसक्दा पार्टी एकता घोषणा मिति जुर्न सकिरहेको छैन । दुवै पार्टीबीच एकता हुने निश्चित भएको बताइए पनि केही विषय अझै मिल्न बाँकी रहेकाले एकता कहिले हुने भन्ने अनिश्चित बनेको छ ।

यसअघि ओली र दाहालबीच शुक्रबार एक्लाएक्लै भेटवार्ता भएको थियो । भेटले एकता घोषणा मिति तय गर्ने बताइए पनि विवादित विषयमा नै सहमति जुट्न सकेन । अध्यक्ष दाहालले यसअघि दुई अध्यक्षको छलफलले एकता मिति तोक्ने बताउँदै आएका थिए । स्रोतका अनुसार विवादित विषयको सहमति बाँकी हुँदा मितिको विषयले प्रवेश पाएको छैन ।

नेतृत्व, सांगठनिक व्यवस्थापनलगायतका विषयमा सामान्य छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । माओवादीले भने सम्मानजनक, न्यायोचित एकताको खोजी गरिरहेको दाहाल सचिवालयले जनाएको छ । माओवादी अध्यक्ष दाहालले बैठकबाट बाहिरिँदै एकता नजिक पुगेको बताए ।

दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा सहमति बाँकी छ ।

७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका दुई दल मुख्य नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा अड्किएका छन् ।

चुनाव चिह्न, पार्टी विधानमा जनयुद्धको विश्लेषणको विषय पनि मिल्न बाँकी छ । दुई पार्टीले प्रधानमन्त्री ओलीको २३–२५ चैतको भारत भ्रमणअघि नै एकता सम्पन्न गर्ने तयारी असम्भव भएको थियो । ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन दिवसको दिन पारेर एकता घोषणा गर्ने तयारी सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्