फिल्ममा जस्तै कलाकारको साँच्चै विवाह, किन टिक्दैन ?



काठमाडौं । अभिनेत्री गौरी मल्लको विवाह लामो समयसम्म टिक्न सकेन । प्रज्वल भण्डारीसँग वैवाहिक जीवन प्रारम्भ गरे पनि अभिनेत्री मल्ल उनीसँग लामो समयसम्म सँगै भइनन् । विवाहपछि उनीहरू अमेरिका पुगे । अमेरिकामै उनीहरूको सम्बन्ध बिग्रिएपछि गौरी स्वदेश फर्किएर पुनः अभिनयमा सक्रिय भइन् ।

अभिनेत्री मनीषा कोइरालाले मुम्बईको व्यस्त कार्यतालिकाका बीच नेपाल आएर विवाह गरिन् । व्यवसायी सम्राट दाहालसँगको वैवाहिक जीवनलाई मनीषाले लामो समयसम्म टिकाउन सकिनन् । मनीषाले श्रीमान्सँग सम्बन्ध विच्छेद गर्ने क्रममा स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गरेकी थिइन् ।

अभिनेता भुवन केसी तथा अभिनेत्री सुस्मिता बमजनबीचको वैवाहिक जीवन सुमधुर हुँदाहुँदै पनि उक्त जोडी लामो समयसम्म सँगै रहन सकेन । अनमोल केसीका रूपमा नेपाली चलचित्रका सुपरस्टारलाई जन्मदिने यो जोडीलाई कतिपयले आदर्शसमेत मानेका थिए, यद्यपि उनीहरूले अलग हुने बाटो रोजे । आज पनि भुवन र सुस्मिता दुवै एकल जीवन बिताइरहेका छन् ।

अभिनेत्री रेखा थापा तथा निर्माता छवि ओझाले वैवाहिक जीवनको एक दशकपछि सम्बन्धमा नरहने निर्णय गरे । उनीहरूको पारपाचुकेको खबरलाई नेपाली सञ्चारमाध्यमले प्राथमिकताका साथ सार्वजनिक गरेका थिए ।

गायिका अन्जु पन्तले गायक मनोजराज सेवासँग अलग हुनुलाई जीवनकै सबैभन्दा सुखद क्षणका रूपमा चित्रण गरेकी छिन् । अन्तर्जातीय विवाह गरेको यो जोडीले सांगीतिक क्षेत्रमा राम्रो चर्चा पनि पाएको थियो ।

यद्यपि उनीहरू लामो समयसम्म सँगै बस्न सकेनन् । एउटी छोरी जन्मिएपछि यो जोडी सधैंका लागि अलग भयो ।

अभिनेत्री प्रियंका कार्की चलचित्र क्षेत्रमा आउनुअघि नै वैवाहिक जीवनमा प्रवेश गरिसकेकी थिइन् । रोचक मैनालीसँगको प्रियंकाको प्रेम विवाह लामो समयसम्म टिक्न सकेन । अमेरिकामा बसोबास गर्ने यो दम्पती सँगै बस्न नसक्ने अवस्थामा पुगेपछि प्रियंका नेपाल फर्किएर चलचित्रमा सक्रिय भइन् ।

अभिनेत्री छुल्ठिम डोल्मा गुरुङ तथा गायक धीरज राईले कुनै बेला प्रेम विवाह गरेका थिए । यद्यपि उनीहरूको वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सकेन । दुवैले बाटो अलग गर्ने निर्णय गरेलगत्तै धीरजले दोस्रो घरजम गरिसकेका छन् भने छुल्ठिम चलचित्र अभिनय एवं निर्माणमा सक्रिय छिन् ।

अभिनेत्री पूजा चन्द तथा चलचित्रकर्मी सुरज चन्दबीचको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । सम्बन्ध–विच्छेदपछि पूजाले संगीतकर्मी राजु लामासँग अमेरिकामै घरजम बसाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्