साहित्यिक क्षेत्रका सक्रिय यात्री हरिप्रसाद



मोहन दुवाल
फरासिला, फूर्तिला, जाँगरिला हरिप्रसादले धेरै वर्ष भयो साहित्य क्षेत्रमा आफ्नो क्रियाशीलता देखाउँदै आएको। आफ्ना माता पशुपतिकुमारी र पिता तोयनाथ पाण्डेय्का नाममा सम्मान÷पुरस्कारको व्यवस्थापन गर्दै आएको पनि १६ वर्ष नाघिसकेको देखिन्छ। प्रत्येक वर्ष एउटा पुस्तक निकाल्न थालेको पनि धेरै वर्ष भइसकेको छ। काठमाडौंमा रहेको प्रज्ञाको सभाकक्षमा यिनी प्रत्येक वर्ष कार्यक्रम गर्छन्।

प्रत्येक वर्ष हुने कार्यक्रममा एउटा पुस्तक सार्वजनिक गर्दै आएका यिनी साँच्चिकै अक्षर पुजारीका रूपमा आफूलाई देखाउन सफल छन्। उपन्यास, कथा, कविता विधामा मात्र नभई सम्पादन कार्य र अनुसन्धानमा पनि यिनले आफ्नो पहिचान देखाएका छन्। यिनका प्रकाशित उपन्यासहरूमा (१) कुमारीको सपना (२०६०), (२) आशाका रेखाहरू (२०६१), (३) नदेखिएका पाइलाहरू (२०६३), (४) मुटुभित्रका ढुकढुकीहरू (२०६५), (५) डाँडामाथिको घाम (२०६८), (६) डढेलोले खाएको बस्ती (२०७१) र (७) पहिरोले पुरिएको मान्छे (२०७४) छन्। यसै गरी कवितासङ्ग्रहहरूमा (१) सम्झना (२०६२), (२) ज्योतिका युगीन स्वरहरू (२०६७), (३) कल्पनाका लहरहरू (२०६७), (४) सिर्जनाका थुँगा र (५) मनका कुराहरू (२०७३) छन्। कथासङ्ग्रहहरूमा (१) अन्जान (२०६४), (२) दैवको लीला (२०६६), (३) सम्झेर आउँदा (२०६९) र (४) आँसुका स्वरहरू प्रकाशित छन्।

यिनका प्रकाशित अनुसन्धान कृतिमा ‘काठमाडौंको पोडेजातिको परिचय’ छ भने ‘तोयनाथ पाण्डेय् स्मृतिग्रन्थ’ को सम्पादन गरेका छन्। साहित्य मन पराएर साहित्य कर्म गर्न पाउँदा र साहित्यलेखनमा व्यस्त रहेर रम्न पाउँदा यिनी खुशी व्यक्त गर्छन्। ‘साहित्य समाजको वास्तविक दर्पण हो’ भनेर साहित्यको परिभाषा गर्न रुचाउने यिनी जीवनलाई ‘ईश्वरको बहुमूल्य उपहार’ हो भन्छन्। नेपाली साहित्यलाई समृद्ध बनाउने यिनको इच्छा रहेकोले साहित्यिक क्षेत्रमा आफूले गरेर र गर्नेहरूलाई सहयोग गर्न पाउँदा यिनी आफ्नो जीवन सार्थक भएको ठान्दछन्। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल र कवि भरतराज पन्तका कविताहरूबाट निकै प्रभावित कवि हरिप्रसाद विदेशी साहित्यकारहरूमा वर्डस्वर्थलाई मन पराउँछन्। २००७ साल जेठ १९ गते प्रा. तोयनाथ पण्डित, पशुपति कुमारीका छोरा भई यिनी सुनखानी गाविस, थापागाउँ, नुवाकोटमा जन्मेका हुन्। अर्थशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका यिनी नेपाल संस्कृत विश्वविद्यालयमा २०३५ सालदेखि सेवारत भएर २०७० साल पुस २२ गते निवृत्त भएको देखिन्छ।

वि.सं. २०२६ मा ‘सम्झना’ कविता छपाएर साहित्यिक क्षेत्रमा देखा परेका साहित्यकार हरिप्रसाद डेढ दशकदेखि आफैं खटिई बुबा–मुमाको नाममा प्रतिष्ठान स्थापना गरेर साहित्यकारहरूको सेवा र सम्मान गर्न तल्लीन छन्। प्रत्येक वर्ष यिनी आफ्ना कृतिहरू प्रकाशन गराउँछन्। यिनले गर्ने साहित्यिक कार्यक्रममा परिवारका सदस्यहरू पनि खटेर लागेका देखिन्छन् र कार्यक्रममा आफ्ना इष्टमित्र, भाइबन्धु र साहित्यकारहरूको भारी उपस्थिति रहेको पाइन्छ। प्रीतिको मायापीर्तिमा बाँचेका यिनी भावना, सृजना, अर्चनालाई जीवनको बाटोमा डो¥याएर जीवन सुखानुभूतिकै कर्म र धर्म साहित्य सोचेर, लेखेर, कार्यक्रम चलाएर बाँच्न पाउँदा हरिप्रसाद दङ्ग छन्। भारतको धेरैजसो ठाउँ घुमिसकेका यी कवि चीन र बङ्गलादेशमा पनि घुमेका छन्। दर्जनौं सम्मान प्राप्त गर्न सफल यिनको सम्मान जनमतबाट २०६८ मा नै भएका छन्। दर्जनौं शोधार्थीहरूले यिनको व्यक्तित्व र कृतित्वका साथै उपन्यास, कविता, कथा विधामा यिनको योगदानलाई मूल्याङ्कन गरेर शोधपत्र लेखेका छन्।

जनमत मासिक, जनमत प्रकाशन, जनमत वाङ्मय प्रतिष्ठानका सहयोगी हरिप्रसाद पाण्डेय्सँग मेरो चिनजान भएको पनि दशौं वर्ष भइसकेको छ। मित्रतामा कहिल्यै पनि प्रश्न नभएका मित्रका रूपमा यिनी मेरो मनमा बस्न सफल मित्र हुन्। जनमतको साहित्यिक यात्रामा कहिले जलपान खिलाएर, कहिले पुस्तकालयमा स्टिल दराज सहयोगस्वरूप पठाएर र जनमतका सबै खालका शृङ्खलामा सहयोग पु¥याएर यिनी जनमतको साहित्यिक अभियानका लागि अग्रस्थानमा रहेका हितैषी हुन्। निरन्तर साहित्य साधनामा समर्पित कवि, कथाकार, उपन्यासकारका रूपमा नेपाली साहित्यमा स्थापित हुन सफल भएकै कारणले हाल यिनी साहित्यिक जगत्मा प्रख्यात छन्। गद्य र पद्य दुवै क्षेत्रका सशक्त लेखक हरिप्रसादका कविताहरूमा सामाजिक यथार्थबोध हुने खालका दृष्टि र चिन्तन व्याप्त छन्।

गद्य लेखनमा पनि यिनका रचनामा संवेदना र करुणा व्याप्त भएर पनि राष्ट्र र जनमनका व्यथा–कथा सम्प्रेषित छन्। कवि पाण्डेय्का कवितामा सौन्दर्य, कला र शैली मात्र छैनन् मानवीयताका स्पर्शहरू, राष्ट्रियताका धुनहरू, जनमनका व्यथाहरू पोखिएका छन्। छन्दमा पनि पोखिन सफल कवि, जीवन–जगत्का भावनाहरू देखाउन सफल उपन्यासकार, मानवीय संवेदनाका हरफहरू कथामा पोख्न सफल कथाकार भएकै कारणले हरिप्रसाद पाण्डेय्का साहित्यिक हरफहरू सबैका लागि अध्ययन गर्न लायकका छन्।

शार्दूल विक्रीडित छन्दका हिमायती कवि हरिप्रसादले विविध छन्दमा पनि कविता लेखेका छन्। कवि कत्तिको देशप्रति चिन्तित छन्, हरिप्रसाद कवि कवितामा यसरी बोल्छन्–

फोस्रा भाषण मात्रले जुलुसको चौतर्फ भो उन्नति
गुन्डा भ्रष्ट मिले लुटे कति लुटे यै देशको सम्पत्ति
होलान् है घरभित्र शत्रुहरू नै खोजौं न साथै मिली
फेरौं लौ अबता सबै मिलिजुली यै देशको काँचुली।

मायाले पनि गासिँदैन मुटु यो फाटेर जाला बरु
रोएको मन थामिदैन मुखमा देखिन्छ पीडा अरू
भेटौं भेट्न सकिन्न साथ उनको टाढा पुगेरै पनि
मारौं मार्न सकिन्न भित्र दिलको माया लुके तापनि।

सत्ता स्वार्थ बन्यो अहो !जनभुली गन्तव्य भो अस्थिर !
आफैंमा परिपूर्ण बन्न सबैले बाटो बिराइसके
नेता मस्त भए लुकेर ढुकुटी मान्छे सबै जिल्लिए।

बाँझा छन् सब खेतबारी अहिले भो देश वृद्धालय
छैनन् कर्मठ पाखुरा मुलुकमा छन् त्रस्त विद्यालय
अर्काको भरमा भविष्य गतिलो कस्को भएको छ र ?
नेपाली पनले विचार गरिद्यौ सम्झेर आऊ घर।

यस्तै देशप्रतिको माया कविताहरूमा पोखेर, मानवीय माया र कर्म कथाहरूमा घोलेर, उपन्यासमा समसामयिक दृष्टि–मर्म भरेर साहित्यिक सिर्जनामा मन दिँदै आएका साहित्यकार हरिप्रसाद पाण्डेय् साहित्यिक क्रियाशीलतामा पनि सक्रिय छन्। साहित्यमा अझ ऊर्जा बोकेर कुदिरहन सकून्, शुभकामना !

प्रतिक्रिया दिनुहोस्