दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता: किम चार पक्षीय वार्ताका लागि तयार



सोल, (एजेन्सी)
उत्तर र दक्षिण कोरियाबीच शुक्रबार सम्पन्न वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्– ‘डरलाग्दो भयावह क्षेप्यास्त्र र आणविक परीक्षणपछि उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता भएको छ। राम्रा कुराहरू भइरहेका छन् तर समयले बताउनेछ। कोरियाली युद्ध समाप्त हुँदै छ। अमेरिका र यसका महान् जनता कोरियामा अहिले भइरहेको घटनाप्रति गौरवान्वित हुनुपर्छ।’

चीनले पनि कोरियाली नेताको संयुक्त घोषणापत्रको स्वागत गर्दै आफू कोरियाली प्रायद्वीपको राजनीतिक समाधानको प्रवद्र्धनका लागि सक्रिय भूमिका निभाइरहन इच्छुक रहेको जनाएको छ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले पनि यस शिखर वार्ताको स्वागत गर्दै उत्तर कोरियाले आफ्ना प्रतिबद्धताहरू निभाउन ठोस कदम चाल्ने आशा गरेको बताएका छन्। कोरियाली युद्ध कुनै औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर नभई केबल युद्धबिराममा मात्र टुंगिएकाले प्राविधिकरूपमा यो अझैसम्म जारी रहेको मानिन्छ।

सो युद्धपछि अमेरिकाले दक्षिण कोरियामा आफ्नो २८ हजार ५ सय फौज तैनाथ गर्दै आएको छ। प्रत्येक वर्ष अमेरिका र दक्षिण कोरियाबीच हुने गरेको संयुक्त सैनिक अभ्यासलाई उत्तर कोरियाले आफूविरुद्धको युद्धको तयारीको रूपमा लिने गरेको थियो। यस वार्ताबाट कोरियाली प्रायद्वीपमा द्वन्द्वको अन्त्य हुने आशासँगै विश्व बजारमा सुधार देखापरेको छ। सोलको सेयर बजारमा एक प्रतिशतले भन्दा वृद्धि भएको छ भने जापानको निक्केइ सेयरको औसतमा पनि सुधार आएको छ।

यसअघि पनि विगतमा उत्तर र दक्षिण कोरियाले शान्तिका लागि आशाको घोषणा गरेका थिए। सन् २००० र २००७ मा प्योङ्याङमा भएको कोरियाली शिखर वार्ता उत्तरको विवादास्पद हातहतियार कार्यक्रम रोक्न र दीर्घकालीन सम्बन्ध सुधार गर्न असफल भएको थियो।

घोषणापत्रमा हस्ताक्षर गरेपछि किमले भनेका छन्– ‘सम्पूर्ण विश्वसामु आज हस्ताक्षर भएको सहमति विगतका सहमतिजस्तै तुहिन नदिन यस सहमतिको सकारात्मक परिणाम ल्याउने प्रयासका लागि हामी संवाद जारी राख्नेछौं।’

त्यसअघि मुनले किमलाई सिमानाको असैनिक क्षेत्र स्वागत गर्ने क्रममा दुवैले मुस्कुराउँदै हात मिलाएका थिए। योजनाभित्र नरहेको व्यवहार देखाउँदै कमिले मुनलाई केहि समय उत्तर कोरियाली भुमिमा पाइला टेक्न आमन्त्रण गरेका थिए। त्यसपछि दुवै नेता हात समाउँदै दक्षिण कोरियातर्फ लागेका थिए। कालो परम्परागत माओ सुट लगाएका किमले मुनलाई भनेका छन्– ‘यस ऐतिहासिक स्थानमा भेटनमा पाउँदा म निकै रोमाञ्चित भएको छु। असैनिक क्षेत्रसम्म तपार्इं आफै आएर स्वागत गर्नुभएकोमा म अत्यन्तै आभारी छु।’

वार्ता शुरू हुनुअघि दक्षिण कोरियाको पिस हाउसमा राखिएको आगन्तुक पुस्तिकामा किमले कोरियाली भाषामा लेखेका छन्– ‘अब नयाँ इतिहास शुरू भएको छ। यस इतिहासको शुरुआत शान्तिको युगबाट भएको छ।’

सहमतिका सात बुँदा  

१  दुई राष्ट्रबीचको ‘शत्रुतापुर्ण क्रियाकलाप’को अन्त्य गरिने

२  प्रोपोगान्डा प्रसारण रोकेर दुई कोरियालाई विभाजित गर्ने असैनिक क्षेत्र (डीएमजेड)लाई ‘शान्ति क्षेत्र’मा रूपान्तरण गरिने

३  यस क्षेत्रमा सैनिक तनाब घटाउँदै हातहतियार कटौती गरिने

४  अमेरिका र चीनसहितको चारपक्षीय वार्ताका लागि पहल गरिने

५  युद्धका कारण बिछोडिएका सबै परिवारको पुनर्मिलनको आयोजना गरिने

६  सीमा क्षेत्र वारपार रेल्वे र सडकलाई आधुनिकीकरण गर्दै जोडिने

७  यस वर्षको एसियन गेम्सलगायत अन्य खेलकुद कार्यक्रममा संयुक्त सहभागितालाई अघि बढाइने

प्रतिक्रिया दिनुहोस्