भारतीय ट्रकको ओभरलोड नियन्त्रण हुन सकेन



यमलाल भुसाल, बुटवल
भारतीय मालबाहक साधनले बोक्ने ओभरलोड नियन्त्रणमा सरोकारवाला निकाय गम्भीर नहुँदा नेपाली यातायात व्यवसायीको पेशा धरासयी बन्दै गएको गुनासो व्यवसायीले गरेका छन्।

दैनिकजसो ओभरलोडमा आउने भारतीय मालबाहक सवारीलाई नियन्त्रण गर्नुको साटो प्रहरीले उल्टै उनीहरूलाई प्रोत्साहन गर्ने गरेको व्यवसायीको आरोप छ। ओभरलोड समस्या समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भारबहन नियमन सम्बन्धी कार्यविधि २०७१ लागू गरे पनि सम्बन्धित निकायबाट प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ओभरलोड समस्या समाधान हुन सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले २०७१ भदौ १ गतेदेखि लागू हुने गरी मालबाहक सवारीको भारवहन नियमन सम्बन्धी कार्यविधि लागू गरेको थियो।

उक्त कार्यविधि कार्यान्वयन गराउने सरकारी निकाय भन्सार कार्यालय, प्रहरी, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालयले कार्यविधि कार्यान्वयनमा उदासिनता देखाउँदा भारवहन नियन्त्रणका लागि बनेको कार्यविधि अलपत्रजस्तै भएको हो।

भारबहन नियमन सम्बन्धी कार्यविधि २०७१ मा ६ चक्के मालबाहक ट्रकले ९ दशमलव ६ टन, १० चक्केले १६ दशमलव ५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टनभन्दा बढी भार बहन गर्न नपाइने उल्लेख छ। तोकिएको भारबहन क्षमताभन्दा बढी बार बहन गरेमा मालबाहक सवारी साधनले कार्यविधिले तोकअनुसारको जरिवाना तिरेर ओभर लोडको सामान अनलोड गर्ने र उक्त सामानको आफैंले जिम्मा लिनुपर्ने उल्लेख छ।

त्यस्तै आयात भएको सामानको भार बहन क्षमता मिलान गरेर मात्रै ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने र तोकिएबमोजिम भन्दा बढी भारबहन गर्नुपर्ने सामाग्रिको हकमा सम्बन्धित यातायात व्यवस्था कार्यालयको स्वीकृतिमा मात्रै भन्सार कार्यालयले ढुवानी इजाजत दिन पाउने कार्यविधिमा छ।

ओभरलोड भएर आएका भारतीय मालबाहक सवारी साधनलाई भने यो व्यवस्थाले छुन नसकेको नेपाली मालबाहक यातायात व्यवसायीहरू बताउँछन्।

लागू भएको कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि पटक–पटक सम्बन्धित कार्यालयहरूमा आग्रह गरिए पनि ती कार्यालयका अधिकारीहरूले वेवास्ता गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टीकाराम गौतमले बताउनुभयो।
ओभरलोड समस्या समाधान नहुँदा नेपाली यातायात व्यवसायीको व्यवसाय धरापमा पर्दै गएको र ओभरलोडका कारण सडक क्षतविक्षत हुँदै गएको अध्यक्ष गौतमले बताउनुभयो। भारतीय गाडीको ओभरलोडका कारण नेपाली व्यवसायीहरू आफ्ना सवारी साधन थन्काएर बस्नुपर्ने स्थिति विकास हुँदै गएको बताउँदै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष लोकराज पोखरेलले सरोकारवाला निकाय गम्भीर नहुँदा समस्या विकराल बन्दै गएको गुनासो गर्नुभयो।
भारतबाट बेलहिया तथा कृष्णनगर नाका हुँदै दैनिक नेपाल भित्रिने मालबहाक सवारी साधनमा अत्यधिक ओभरलोड हुने यातायात व्यवसायीले दाबी गरेका छन्।

‘जति पनि भारतीय गाडी नेपाल प्रवेश गर्दछन् ति ट्रकमा अत्याधिक भारबहन हुन्छ, जसले गर्दा नेपालका सडकको क्षमताले ति लोड धान्न सक्दैनन र सडक क्षतविक्षत हुनुका साथै अधिक लोडका कारण पुल पुलेसासमेत जोखिममा परेका छन्।’ नेपालमा मात्रै ६२ हजार ट्रक रहेको र ती ट्रकमा प्रत्यक्ष रूपमा सवा लाख श्रमिकले रोजगारी पाए पनि सरकारले नेपाली व्यवसायीलाई वेवास्ता गरी भारतीय व्यवसायीलाई काखी च्यापेको गुनासो व्यवसायीको रहेको छ।

ओभरलोडको समस्या ट्रक व्यवसायीका मात्र नभई सार्वजनिक महत्वका विषय भएकाले कानुनले निर्दिष्ट गरेका कुराको परिपालना गर्ने गराउने निकायले नगरी कानुनकै बर्खिलाप भएको समेत व्यवसायीले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्