सम्भावना छ नेपालमा



कमल ढकाल
सुनको चम्चाले खुवाए पनि मान्छेमा पचाउन सक्ने शक्ति भएन भने के काम लाग्छ र? सुनको थाल लिएर माग्न हिँड्नेलाई कसले के भन्न सक्छ र? च्याउको जंगल हुँदैन, जंगल भएमा मात्र च्याउ हुन्छ यति नबुझ्ने कहाँ छन् र? जनता भनेको जरा हो, जनतालाई खुसी नपारे कहाँ अडिनु भन्ने बुझेकै नेता कहाँ छन् र? सबै बुझेर पनि अबुझ भएका कारण आज नेपाल सुनको चम्चाले खाए पनि अपच भएजस्तै छ। सुनको थाल भए पनि त्यही लिएर माग्न हिँड्नु परेको छ आज हाम्रो देश।

भारतबाट नेपाल आएका स्वामी भने नेपालजस्तो अकुत सम्भावना भएको देश संसारमै नभएको बताउँदै छन्। इस्ट बंगालमा जन्मे पनि कर्म नेपालमा भयो उनको। हजुरबुबा माधवचन्द्र घोष जमिनदार थिए। पढालेखा परिवारमा जन्मेका थिए स्वामी चन्द्रेश। कलकत्ताको अर्किड स्कुलमा पढेका उनी ब्रह्मपुरमा हुर्के। सानैदेखि अध्यात्म र साधनामा मन गयो उनको। त्यसैले साइन्सका विद्यार्थी घोष ११ को जाँच दिएपछि घरबाट निस्केर हिँडे। योग र दर्शन पढे। अंग्रेजी हिन्दी र बंगालीमा खरर प्रवचन दिने स्वामी चन्द्रेश बने। भारत र नेपालका अधिकांश भागमा प्रवचन दिएका रहेछन् स्वामी चन्द्रेशले।

नेपालको प्राकृतिक वैभवतामा लठ्ठिएका स्वामी चन्द्रेश नेपालमा विश्वलाई ज्ञान दिने शक्ति रहेको बताउँछन्। योग ध्यान, वेद, उपनिषद् र पुराणलाई शिक्षामा समावेश गरेमा यहाँ पढ्न आउनेको ताँती लाग्ने उनको बुझाइ छ। हिन्दु दर्शन रिसर्च साइन्स हो। यसको विश्वविद्यालय नेपालमा बनाउन सकिने उनको धारणा छ।

२०२५ सालमा नेपाल पसेका स्वामीलाई शिवपुरीको प्राकृतिक सुन्दरताले बहुत लठ्याएर राखेछ। २२ वर्ष शिवपुरीमा तपस्या गरी ब्रह्मको खोजी गरेका स्वामी चन्द्रेश विगत २५ वर्षदेखि बूढानीलकण्ठ विद्याश्रममा सयौंलाई पढाउँछन्। ट्र्यांगुलर शिक्षा उनको सिद्धान्त हो। यही शिक्षा नै संसारमा अवश्यकता छ। आज होस् वा हजार वर्षपछि, यो शिक्षा लागू गर्दा सबको भलो हुनेमा चन्द्रेश ढुक्क छन्।

त्रिनीति शिक्षा भनेको ज्यामितिमा जसरी ३ भुजाको महत्व छ त्यसरी नै त्रिनीति शिक्षामा पनि ३ वटै शिक्षाको उत्तिकै महत्व भएको स्वामीको भनाइ छ। आध्यात्मिक, व्यावहारिक र जानकारीमूलक शिक्षा पद्धतिलाई नै त्रिनीति शिक्षा भनिएको रहेछ। यसभित्र आध्यात्मिकले नैतिक, व्यक्तित्व विकासको निर्माण गर्ने र मानवीय गुणको अभिवृद्धि गर्ने रहेछ। सीपमूलक दक्षताको अभिवृद्धि गर्दै विभिन्न सीप सिकाएर दक्ष बनाउने शिक्षा व्यावहारिकमा पर्दाेरहेछ। जानकारीमूलकमा अध्यात्मिक र व्यावहारिक शिक्षा लिएर खारिएको कुरालाई विभिन्न इन्फरमेसन दिएर तरकारीमा मसला हालेर मीठो पारेजस्तै काम तेस्रो शिक्षा प्रणालीले गर्नेरहेछ। यही शिक्षा आजको आवश्यकता हो भनेर हिँड्ने स्वामीले सरकारी झमेलाका कारण आफ्नै आश्रममा पनि हुबहु आफ्नो शिक्षा उपभोग गर्न सकेका रहेनछन्।

त्यस दिन बुद्ध पूर्णिमाको दिन थियो। मनोरम बूढानीलकण्ठमा मनोक्रान्ति चेला शिव घिमिरे सँगै थिए। मीठो स्वरमा गाउँदै अनि भाइलन बजाउँदै स्वामी भजनमा लीन थिए। साथै आश्रममा बस्ने थुप्रै बालबच्चा उनीसँगै गाउँथे। चेलाचेलीलाई बुद्धको बारेमा प्रवचन पनि दिए। को हुन् बुद्ध? किन उनको पूजा र सम्झना अहिलेसम्म हुन्छ? लगायतका कुरामा सटिक ढंगले पढाए। प्रवचन सकिएपछि प्रसाद वितरण भयो। त्यसपछि बल्ल समाचारपत्रका लागि समय निस्कियो।

जसरी १ बाल्टी दूध तताउँदा १ गिलास खुवा बन्छ त्यसैगरी बुद्धिलाई जति एकाग्र गर्यो नयाँ तत्व बन्छ। त्यो उद्देश्य हो। मान्छेले चाहनुपर्छ कालक्रमले जे पनि प्राप्त हुन्छ। दुःख नपाएको को छ यो संसारमा? ७ अर्बमा महत्वपूर्ण चिज आफै हो मान्छे। त्यसैले मान्छेलाई चिनेर त्यहीअनुसार लागेमा हरेक मान्छेले आफैभित्रको बुद्धत्व प्राप्त गर्छ। यस्तै यस्तै कुरा गरेका थिए स्वामीजीले प्रवचनमा।

हरेक मान्छे जो स्वामी बन्छ, त्यसले खानापिना, परिवार र समाजको उति वास्ता गर्दैन। लगातार ध्यान ज्ञान र प्राणायाम, दर्शनको पछाडि लाग्दै गएपछि ऊ आफैमा सिद्धहस्त बनिसक्छ। यद्यपि, राम्रो सबैका लागि राम्रै हो। उज्यालो सबैलाई मन पर्छ। स्वामीलाई पनि सकारात्मक केही काम गरौं भन्ने पर्दाेरहेछ। त्यसैले स्वामी चन्द्रेशले पनि २२ वर्षको लामो तपस्या सकेर शिवपुरीबाट झरेपछि बूढानीलकण्ठमा आश्रम बनाई पढाउने विचार गरेछन्। त्यसैले २५ वर्षअघि शुरू भएको विद्याश्रमबाट अहिले हजारौंले पढिसकेछन्।
२०५२ सालदेखि एसएलसीमा सामेल भएको यो आश्रममा पढेका मान्छे आज चराझैं संसारका विभिन्न कुनामा उडिरहेका रहेछन्। त्यहाँको शिक्षा शुरूका दिनमा तलको कक्षामा ५ रुपियाँमा पढाउने र माथिको १० रुपियाँमा पढाउने गरिएको रहेछ। २५ रोपनी जग्गामा फैलिएको आश्रममा अहिले ४ सय २५ जना विद्यार्थी अध्ययनरत छन्। भर्ना शुल्क अहिले ६ सय र मासिक शुल्क ५ सय रहेछ। डोनसनमा चलेको त्यो आश्रममा आउने आगन्तुकले र पहिलेदेखि दिने दानका कारण त्यो आश्रम चलेको रहेछ। खाजा त्यहीं खुवाउने र हरेकको जन्म दिन मनाइने त्यो आश्रममा पढेका बच्चा योग दर्शनमा पनि निकै पारंगत हुँदा रहेछन्। बिहान वेदको प्राणायाम, ध्यान, प्रवचन र राष्ट्रिय गानबाट शुरू हुने स्कुलमा कर्मको भेदले मान्छेमा भेद आउँछ भन्ने सिकाइँदो रहेछ।

नेपालको प्राकृतिक वैभवतामा लठ्ठिएका स्वामी चन्द्रेश नेपालमा विश्वलाई ज्ञान दिने शक्ति रहेको बताउँछन्। योग ध्यान, वेद, उपनिषद् र पुराणलाई शिक्षामा समावेश गरेमा यहाँ पढ्न आउनेको ताँती लाग्ने उनको बुझाइ छ। हिन्दु दर्शन रिसर्च साइन्स हो। यसको विश्वविद्यालय नेपालमा बनाउन सकिने उनको धारणा छ।

‘बुद्ध पूर्णिमामा २ महिना मेला लगाउन सकिन्छ। लुम्बिनीमा १ मैन बाले सबै पाप पखालिन्छ भन्यो भने अनि १ पटक बागमतीमा डुबुल्की मार्दा पाप जान्छ भनेर २ महिना शिवरात्रि मनाइयो भने यहाँ करोडौं पर्यटक आउँछन्।

तिरूपति बालाजीले पैसा जोखेर लिन्छ गन्न भ्याउँदैन। कुम्भ मेलामा ७ करोड आउँछन्। मान्छे आए पैसा हुन्छ नेपालमा। त्यही भएर १ करोड हिन्दु १ करोड बुद्धिस्ट वर्षमा आउन लगाउनुपर्छ र त्यो सकिन्छ पनि।’ –उनले भने।
ज्योतिष, योग शिक्षामै समावेश गरिदिने हो भने नेपाली अर्बमा गए पनि हात हेरेर थप १० दिनार कमाउन सक्छन्। हामीले प्लेन बनाएर बेच्न नसके पनि सोभिनियर जति पनि बेच्न सक्छांै। जसमा क्वालिटी हेर्दैन। कल्चर र धर्म हेर्न आउनेले यहाँको लिटरेचर किन्छ। अर्थसँग परमार्थ जोडिएको हुन्छ।

नेपालमा यति राम्रो हावापानी र संस्कृति हुँदा पनि नेपालका नेताले नजान्दा चन्द्रेश स्वामीलाई पनि दुखेको रहेछ। नेपालका मै हुँ भन्ने धेरै नेता स्वामीकोमा पुगेका रहेछन्। उनीहरू सबैलाई अधिकांश जनता हिन्दु भएको यस देशलाई धर्म निरपेक्ष नबनाऊ, संसारका गने चुनेका देशमा पनि आफ्नो धर्म रहेको बताउँदा पनि नमान्दा र विकासमा नेता नलाग्दा स्वामीको मन पनि दुखेको रहेछ।

 

प्रतिक्रिया दिनुहोस्