उत्तर र दक्षिण कोरियाली नेताबीच वार्ता हुने



सोल, (एजेन्सी)
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज शुक्रबार भेटवार्ता हुनेभएको छ।कैयौं वर्षपछि २ देशका नेताबीच हुन लागेको यो पहिलो भेटवार्ता हो र यसमा आपसी मतभेद सल्टाउने प्रयास हुनेछ। यसअघि महिनौसम्म २ देशबीच सम्बन्ध सुधार्ने सम्भावनाको प्रयास भइरहेको थियो। यो भेटवार्तापछि उत्तर कोरिया र अमेरिकाबीच पनि महŒवपूर्ण शिखर वार्ता हुने कार्यक्रम छ।

यस शिखर बैठकमा कोरियाली प्रायद्विपलाई परमाणु निसस्त्रीकरण र शान्ति स्थापना गर्नेदेखि अन्य विभिन्न मुद्दामा चर्चा हुनेछ। तर उत्तर कोरिया आफ्नो परमाणु हतियार परित्याग गर्न सहमत नहुने विशेषज्ञहरूले अनुमान गरेका छन्। यद्यपि दक्षिण कोरियासँग शुक्रबार हुने र अमेरिकासँग हुने वार्ता यसै मुद्दामा केन्द्रित रहने प्रष्ट छ।

उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण दक्षिण कोरिया र अमेरिकासँग उसको तनावपूर्ण सम्बन्ध उत्कर्षमा रहेको बेला नाटकीयरूपमा यो वार्ता अगाडि आएको हो। यो सन् २००७ पछि २ देशका नेताबीच हुन लागेको पहिलो वार्ता हो। यो भेटवार्ता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। यसअघि उत्तर कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गरेका थिए।

किमका पिता तथा उत्तर कोरियाली पूर्वराष्ट्रपति किम जोङ इलले आफ्नो कार्यकालमा २ पटक दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटेका थिए। उनले सन् २००० मा किम डे जुङसँग र सन् २००७ मा रो मु ≈युनसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्