काठमाडौंमा भेटिन थाले चिनियाँ मगन्ते



टीका बन्धन, काठमाडौं
काठमाडौं उपत्यकाका सडक र सार्वजनिकस्थलमा नेपाली र भारतीय मगन्ते देखिनु÷भेटिनु नौलो होइन। केही समययता उपत्यकामा चिनियाँ मगन्तेसमेत भेटिन थालेका छन्।

चिनियाँ गीत–संगीत, सार·ी र अन्य वाद्यवादन बजाउँदै÷सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन्। सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २÷३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा संकलन गर्दै आएको पाइन्छ ।

मगन्ते हुलिया र शैलीमा देखिने÷भेटिनेहरू प्रायः अधवैंशे उमेर समूहका छन्। बिहीबार दिउँसो जावलाखेल चोकमा २ जना चिनियाँ महिला शिरमा लगाइने ह्याट फैलाउँदै सडक किनारामा आगन्तुकसँग पैसाका लागि अपिल गरिरहेको भेटिए। यस्तै शैलीमा करिब ६० वर्ष उमेर नाघेका झैं देखिने अर्का चिनियाँ नागरिक न्युरोड, जुद्ध शालिक र कहिलेकाहीं रत्नपार्क आसपासमा भेटिन्छन्।

यसरी देखिने÷भेटिने चिनियाँको पासपोर्ट र सरकारी अभिलेखले उनीहरूलाई मगन्ते वा भिखारी भन्दैन, उनीहरू पर्यटक हुन्। पर्यटक भिसामा नेपाल आउनेहरू नै मगन्तेका रूपमा भेटिने गरेका र त्यस्ता नागरिकको गतिविधि गैरकानुनी भएको चिनियाँ पथ प्रदर्शक ध्रुव पौडेल बताउनुहुन्छ। ‘स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ काठमाडौं र पोखरामा समेत मगन्तेका रूपमा देखिने गरेका छन्, उनीहरू जुन प्रयोजनका लागि नेपाल आएका हुन्, त्योबाहेकको गतिविधिमा देखिनु गैरकानुनी कार्य हो।’ –उहाँले भन्नुभयो।

एक दशकअघिदेखि चिनियाँ पथ पर्यटकको भूमिकामा रहनुभएका पौडेललाई प्रहरीले बेला मौकामा दोभाषेको भूमिकाका लागि सहयोग माग्ने गरेको छ। गत चैत २५ गते बालाजु प्रहरीले एक दृष्टिविहीन चिनियाँ महिला र उनका दाजुलाई बालाजु बाइपासबाट पैसा मागिरहेको अवस्थामा नियन्त्रणमा लिएपछि पौडेल सहजीकरणका लागि पुग्नुभएको थियो। उहाँले भन्नुभयो– ‘आफूलाई दाजु–बहिनी बताउने उनीहरूको साथ खानतलासी गर्दा केवल एक आरएमबी (करिब २० रुपियाँ) मात्रै फेला प¥यो, त्यस्ता पनि पर्यटक बनेर नेपाल भित्रिने गरेका छन्।’ पौडेलको अनुभवमा तिब्बतको ल्हासास्थित वाणिज्य दूतावासमा भिसा प्रक्रिया पूरा गरी रसुवागढी, कोदारी जस्ता स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ मगन्तेका रूपमा रहने गरेका छन्। नेपालले चिनियाँ नागरिकलाई न्यूनतम एक महिना र वर्षमा अधिकतम १ सय ५० दिनको पर्यटक भिसा उपलब्ध गराउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा नेपाल भ्रमण गर्ने चिनियाँलाई भिसा प्रक्रिया निःशुल्क गरेपछि स्थल नाका हुँदै नेपाल आउने चिनियाँको संख्या सुधार भएको बताइन्छ।

नेपाल भित्रिने पर्यटकबारे नियमन गर्ने निकाय अध्यागमन विभाग हो। पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न हुनेमाथि निगरानी बढाएर कारबाहीको दायरामा ल्याउने गरिएको विभागका महानिर्देशक दीपक काफ्ले दाबी गर्नुहुन्छ। उहाँले भन्नुभयो– ‘जुन भिसा प्रक्रियामा विदेशी नेपाल आउँछन्, त्यही गतिविधि गर्न उनीहरूलाई छुट छ, तर फरक किसिमको गतिविधिमा संलग्न भएको पाइएमा तत्कालै गृह प्रशासनको सहयोगमा कारबाही प्रक्रिया बढाउने गरिएको छ।’

सो निकायकै एक अधिकारीका अनुसार केही समयअघि पोखरामा गीत–संगीत बजाएर हो–हल्ला गरेका र काठमाडौंमा माला बेच्दै हिँडेका चिनियाँलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ। रसुवास्थित अध्यागमन कार्यालयका अनुसार चिनियाँ २०÷२२ जनाको समूहमा आउँछन् र कम्तीमा १ साता र बढीमा ३ साताका हाराहारीमा स्वदेश फर्कन्छन्। नेपाल प्रवेश गर्ने क्रममा कोही पनि चिनियाँ मगन्तेको भेषमा नदेखिने सो कार्यालयका अधिकारी मानबहादुर बरालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्