चर्च आक्रमणमा सोह्रको मृत्यु



नाइजेरिया । नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेको जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएका छन् ।

फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट १६ जनाको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनले आफ्नो घरायसी बिदा छोट्याएर फर्किएका हुन् । सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक परिसरमा भएको घटनामा मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु ११ जना पुजामा संलग्न भक्तजनहरु रहेका अधिकारीहरुले बताएका छन् ।

बिहान सवेरै प्रार्थना भईरहेका बेला आक्रमणकारीहरुले एकाएक चर्चमा आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीले प्रहरी र पत्रकारलाई दिएको जानकारी अनुसार स्थानीय समय बिहान पाँच बजे आक्रमणको घटना भएको थियो । राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्