अमेरिकालाई परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको चेतावनी



वासिङ्टन । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन अमेरिकालाई चेतावनी दिएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच उक्त एजेण्डामा छलफल हुनु केही घण्टा अघि रुहानीको चेतावनी आएको हो । ट्रम्पको सम्झौता भङ्ग गरिदिने टिप्पणीलाई कार्यान्वयन गरे गम्भीर परिणाम हुने रुहानीको चेतावनी छ।

विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो ।

सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्ध हटाइएका थिए । फ्रान्सका राष्ट्रपति म्याक्रोँले ट्रम्पलाई उक्त सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ । रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै ‘खराब सम्झौता’ भन्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्