कहिलेसम्म ढाँट्ने कामरेड ?



नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकता गर्ने भनेको पनि धेरै भइसकेको छ। निर्वाचनमा सँगै हल बँँधिएर जँँदा तत्कालै एकता गर्ने भने पनि आन्तरिक समस्या र विवादले एकताको नारा पनि पुरानो भइसकेको छ।

धरहराले माथिबाट चियाएर हेर्दा पनि त्यति राम्रो लक्षण देखेको छैन तर अब कुन बहाना गरेर एकताबाट भाग्ने भन्ने चिन्ता छ ओली र प्रचण्डलाई। जनताको चाहनाअनुसार चुनावी तालमेल र पार्टी एकता गर्ने लक्ष्यसम्म पुगेको भनिए पनि दुई पार्टीका दुई चारजना नेताबाहेक अरू कसैले थाहा नपाइकन दशैंको टिको लाउन छोडेर चुनावी तालमेलमा लाग्नुको कारण पनि अहिलेसम्म प्रष्ट आउन सकेको छैन। निर्वाचनलगत्तै एकताको प्रक्रियामा नबसी प्रचण्ड आरामका लागि चितवन र ओली झापा बरालिनुले पनि केही आशंकाहरू देखापरेका थिए।

सोमबार राष्ट्रियसभा गृहमा भएको एकता नामको झुक्याउने खेल पनि हेर्नलाई लायक नै थियो। अझ यतिसम्म कि ‘मेरो यो भएन र तेरो त्यो बढी भयो’ भनेर देखाएको रमिता पनि रोचक नै थियो। आइतबार पार्टी एकताको औपचारिक घोषणा गर्ने भनेर जनतालाई झुक्याएपछि एकताप्रतिको नियत खराब हुँदै गएपछि के गर्ने भन्ने विकल्प खोज्दै जनतालाई अँँखामा छारो हाल्न सभाको नाटक रचिएको भन्दा फरक पर्दैन।

एकले अर्कालाई देखी नसहने र अर्काको अस्तित्व स्वीकार्न नसक्ने पुरानो रोगले नेताहरूलाई गाँजेको छ। राम्रोजति सबै मैले र बिग्रिएजति अर्काले गरेको भन्ने बानी नहटेसम्म कोहीभन्दा कोही पनि कम भएको मान्दैनन्, समयमै सद्बुद्धि पलाओस् धरहराको शुभकामना।

प्रतिक्रिया दिनुहोस्