संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यक: अध्यक्ष यादव



इनरुवा, संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।

यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्रपारि संघीयता कार्यान्वयनमा जोड दिनुभयो ।
अध्यक्ष यादवले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चारको विकास गरी नागरिकलाई सुशासनको महसुस गराउनुपर्ने आवश्यता औँल्याउनुभयो ।
उहाँले फरक प्रसंगमा सहकारिताको माध्यमबाट बेरोजगारी र गरिबी हटाउन सकिने तर्क गर्दै स्थानीय सरकारले त्यसमा भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्