पार्टी एकता गर्ने, ओली–प्रचण्डको प्रतिबद्धता



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तत्काल पार्टी एकता हुने बताएका छन्। कुनै पनि हालतमा पार्टी एकता हुने दाबी गर्दै दुई दलले प्राविधिक कारणले केही ढिला हुन गएको बताएका हुन्। पार्टी एकता गर्न धेरै विषयमा सहमति जुटिसकेको र बाँकी विषयमा सहमति निर्माण गर्ने केही समय लाग्ने भएकाले केही साताभित्र नै पार्टी एकता हुने बताएका छन्।

६९ कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा एमाले र माओवादी केन्द्रद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पार्टीबीच एकता हुने प्रतिबद्धता गर्नुभयो। अध्यक्षद्वयले पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित ढंगले अगाडि बढाउने सहमति भएको बताउनुभएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकता प्रक्रियालाई सफल बनाइछोड्ने बताउनुभयो। कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेजारी फालेर उम्किने ठाउँ नरहेको बताउँदै एकतालाई सफल पार्नेबाहेक अरू बाटो नरहेको बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो– ‘अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन। मिलेन भने खुट्टामा टाँसटुस पारेर भए पनि जानुपर्छ। हामी त्यो ठाउँमा पुगिसक्यौं।’

पार्टी एकताअघि दुवै पार्टीमा केही समस्या हुने उल्लेख गर्दै एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताउनुभयो। ठट्यौली शैलीमा उहाँले भन्नुभयो– ‘बिहे गर्नुभन्दा अघि त एउटै घर हुँदैन। दुलाहाको अन्तै र दुलहीको अर्कै घर हुन्छ। जब बिहेपछि एक भइन्छ सबैको माया लाग्न थाल्छ। यो एकता पनि त्यस्तै त्यस्तै हो।’

पार्टी एकता गर्दा सम्मान, समानता र न्यायसंगतरूपमा हुने बताउँदै त्यसैलाई प्रमुख आधार बनाएर पार्टी एकता गरिने र दुई पार्टीबीच एकता रोक्नुपर्ने कुनै विषय बाँकी नरहेको बताउनुभयो। ‘हामीले आगोमात्रै तापेका छैनौैं, आइस पनि चाखेका छौं, जेलनेल, युद्ध, शान्तिका सबै अनुभवलाई लिएर राष्ट्र निर्माणको संकल्पमा जुटेको छौं।’ –उहाँको भनाइ थियो।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको संरक्षण गर्ने सन्दर्भमा सरकार सजग रहेको बताउँदै पारस्परिक सम्बन्धका आधारमा अघि बढ्ने र दुइटै छिमेकीसँग मिलेर लाभ लिन र विकास गर्न सक्ने बताउनुभयो। नेपालको कम्युनिस्ट आन्दोलन आज देखिने विन्दुमा पुगेको उल्लेख गर्दै लेनिनकै सिद्धान्तका आधारमा विश्व राजनीतिमै ठँलो परिवर्तन आएको उहाँले बताउनुभयो।

फुटेको लाभ प्रतिक्रियावादीले लिने अवस्था लिनुहँुदैन भनेर दुवै पार्टी जुटेर अगाडि बढेको बताउँदै पार्टी एकता गर्ने अन्तिम तयारीमा आफँहरू रहेको बताउनुभयो। माक्र्सवाद र लेनिनवादको विरोध गर्नु गुलाबको फँल नदेख्नेले मन पर्दैन भनेजस्तो भएको बताउँदै उहाँले एकता विरोधी खुसी हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो।
त्यसै गरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हल्ला नगरी अब पार्टी एकता हुने बताउनुभयो। उहाँले बाहिर हल्ला गरेपछि दुई पार्टीबीच त्यो दिन एकता नहुने र अब नभनेको दिन एकता हुने दाबी गर्नुभयो। निर्वाचनअघि वाम तालमेल, एकता गर्नेलगायतका सम्झौता गरेर सरप्राइज दिइएको उल्लेख गर्दै उहाँले अब एकताको घोषणा पनि सरप्राइज हुने बताउनुभयो। ‘एकताबाट दायाँबायाँ गर्ने छुट कहीँ कतै पनि छैन’, प्रचण्डले भन्नुभयो– ‘अब उम्कन नसक्ने गरी जनता, कार्यकर्ता र विश्वको घेरा छ।’ एकता प्रक्रियामा आशंका नगर्न आग्रह गर्दै उहाँले विगतमा पनि पार्टीहरू मिलेको र विभाजन भएको धेरै घटना रहेकाले परिपक्क ढंगले एकता गर्न लागेको बताउनुभयो।

ब्यानरको विषयमा भएको विवादको प्रसंगमा प्रचण्डले कार्यक्रममा केही प्राविधिक त्रुटि भएकाले त्यसबाट सिक्नुपर्ने बताउनुभयो। पार्टी एकताको गृहकार्यमा लागेका बढी समय दिँदा व्यवस्थापन पक्षमा ध्यान दिन नसक्दा त्रुटि भएको बताउनुभयो। नेपालको सामाजिक रूपान्तरण, न्यायका लागि शान्तिपँर्ण आन्दोलन र जनयुद्धको माध्यमबाट आफँहरूले जमर्को गरिरहेको बताउँदै पार्टी एकताको लागि नयाँ केन्द्रीय समिति बनाउने अन्तिम प्रयासमा रहेको बताउनुभयो।

मदन भण्डारीकै पालमा नै आफँले भण्डारीबीच पार्टी एकताका लागि बहस चलाएको बताउँदै माधवकुमार नेपाल हुँदै चलेको बहस केपी ओलीसम्म आइपुग्दा एकता गर्ने निष्कर्षमा पुगेको बताउनुभयो। ‘पार्टी एकता प्रक्रियाबाट भाग्ने छुट अब छैन’, प्रचण्डले भन्नुभयो– ‘वैचारिक, राजनीतिक र सांगठनिक रूपमा हिजो मात्रै दुई अध्यक्षबीचमा एउटा मोडालिटीमा सहमति भएको छ। सम्मानजनक ढंगले एकता गर्ने, समानता र न्यायोचित हिसाबले बुद्धिमतापँर्वक मोडालिटी तयार भएको छ।’ ‘एकता बिथोल्न धेरै तागत लागेका छन्, त्यसकारण जुन दिन भनिन्छ त्यो दिन एकता हुँदैन। जुन दिन हँुदैन भनिन्छ त्यही दिन ड्याम्म एकता हुन्छ।’ –उहाँले भन्नुभयो। कमा, फुलिस्टपमा झगडा गर्दै हिँडेको स्मरण गर्दै उहाँले फेरि शिक्षा लिँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

निर्वाचनअघि बोल्दै नबोल्ने, हेर्दै नहेर्ने बीचका साथीहरू एकै ठाउँमा बस्ने वातावरण बनेको बताउँदै एउटै संघर्षमा होमिएर आत्मीय भएर आएको बताउनुभयो। अहिले एकता हुन नदिन माओवादी र एमाले दुवैलाई उचालिएको बताउँदै एमाले र माओवादीलाई पनि ठँलो पार्टी हुँदाको राम्रो अनुभव रहेको बताउनुभयो। उहाँले सत्ता पक्ष भए पनि प्रतिपक्षलाई पनि विकास र समृद्धिको बाटोमा एकता लिएर जानुपर्नेमा जोड दिनुभयो। एमालेले माओवादी र माओवादीले एमालेका कार्यकर्ताको भावना बुझ्न सकिएन भने यो ऐतिहासिक काम गर्न कठिन भएको बताउँदै प्रचण्डले भन्नुभयो– ‘पार्टी एकतालाई बिगार्ने हैन, बलियो बनाउनेतर्फ लाग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्