नेप्सेमा अर्ध शतकको वृद्धिसँगै लगानीकर्ताको आम्दानी ६० अर्ब



नेपाल समाचारपत्र
काठमाडौं
निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) नयाँ वर्षको शुरूआतसँगै वृद्धि हुन थालेको छ। एक सातादेखि वृद्धि जारी रहँदै गर्दा साताको पहिलो दिन आइतबार नेप्से ५० अंकले बढेको छ।

परिसूचक वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। केही दिन अघिसम्म एक अर्बको कारोबार हुन हप्ता दिन कुर्नपर्ने स्थिति रहँदै आएको थियो। तर, पछिल्ला तीन दिनमा एकैपटक अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ। यस दिन नेप्से ५० दशमलव १८ अंकले वृद्धि भई परिसूचक १४३८ दशमलव ४९ बिन्दूमा पुगेको छ।

कुल १६७ कम्पनीका २८ लाख ८९ हजार कित्ता शेयर १ अर्ब २३ करोड रुपियाँमा कारोबार हुँदै नेप्सेको समग्र पुँजीकरण १६ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ। आइतबार लगानीकर्ताले करिब ६० अर्ब रुपियाँ कमाएका छन्। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव शून्य ८ अंकले बढेर ३०४ दशमलव ११ अंकमा पुगेको छ।

आइतबार सबै उपपरिसूचक वृद्धि भएका छन्। जसमध्ये सबैभन्दा बढी बीमा समूह ३५२ दशमलव ९९ अंक, लघुवित्त समूह १०० दशमलव २३ अंक, जलविद्युत् समूह ८९ दशमलव ९९ अंक, होटल समूह ६५ दशमलव २ अंक, विकास बैंक समूह ६१ दशमलव ६६ अंक, उत्पादक तथा प्रशोधन समूह ४० दशमलव ३८ अंक, बैंकिङ समूह ३९ दशमलव ३१ अंक, वित्त समूह २३ दशमलव १४ अंक र अन्य समूह १२ दशमलव ५७ अंकले बढेको छ।

आइतबार अरूण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको संस्थापकको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ। शेयर मूल्य अधिक बढेका कारण २१ कम्पनीको कारोबारमा सर्किट ब्रेकर लागेको थियो। २० प्रतिशत हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन भएको कारण यस दिन कुमारी बैंकको शेयर कारोबार उच्च भएको छ। यस बैंकको १ लाख ९२ हजार कित्ता शेयर ५ करोड ४२ लाख ८८ हजार रुपियाँमा कारोबार भएको थियो।
त्यसैगरी राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको ४ करोड ४० लाख ७२ हजार रुपियाँ, सानिमा बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर, चिलिमे हाइड्रोपावर कम्पनी, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंक, सानिमा माई हाइड्रोलगायतका कम्पनीको पनि रकमका आधारमा उच्च कारोबार भएको थियो।

शेयर कित्ताको आधारमा सानिमा र नेपाल बैंक, सानिमा माई हाइड्रोपावर कम्पनी, जनता बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल, सिटिजन्स बैंक, सेञ्चुरी र ग्लोबल आइएमई बैंक अगाडि रहेका छन्।

समग्र परिसूचक बढेर शेयर बजारमा उछाल आउँदा पनि रिडी हाइड्रो र ङादी हाइड्रोपावर, सिनर्जी पावर, नेपाल हाइड्रो डेभलपर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, एनआइबील प्रगति फन्ड, सिर्जना फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट र नबिल इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन्। बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेको स्थिति तथा राजनीतिक वातावरण पनि सुधार हुँदै गएको परिस्थितिमा लगानीकर्ताहरू उत्साहित भएको भनिए पनि एक्कासी शेयर बजारमा देखिएको वृद्धिमा खासै तुक नभएको विश्लेषकहरूको भनाइ छ। विगतमा कुनै तुकबिना नेप्सेमा गिरावट आएजस्तै अहिले बढेको हो। यस्तो वृद्धि हुने क्रम केही समय जारी रहने र नेप्से करिब १५५० को हाराहारीमा पुगेपछि करेक्सन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्