राजवंशीका दुई कृति विमोचित



नेपाल समाचारपत्र
काठमाडौं
शिक्षाविद् एवम् कथाकार लक्ष्मण राजवंशीका दुई कृति विमोचन गरिएको छ। शनिबार सिद्धार्थ वनस्थलीमा आयोजित एक कार्यक्रममा राजवंशीद्वारा लिखित ‘जब महाकाली उर्लन्छ’ र अंग्रेजी संस्करणको ‘अन सर्टेन फ्युचर’ अनिश्चित भविष्यको प्राडा. धु्रवचन्द्र गौतम तथा प्राडा. जयराज आचार्यले संयुक्त रूपमा विमोचन गर्नुभयो।

प्राडा. धु्रवचन्द्र गौतमले विमोचित कृतिमाथि समीक्षा गर्दै राजवंशीको कथा नेपाली साहित्यको राम्रो सङ्ग्रहका रूपमा रहेको बताउनुभयो। उहाँले राजवंशीमा साहित्यिक व्यक्तित्व बढी रहेको उल्लेख गर्दै कथाको सन्देश प्रभावकारी ढंगले कलात्मक रूपमा प्रस्तुत गरेको बताउनुभयो।
त्यसै गरी अर्का व्यक्तित्व जयराज आचार्यले आफूलाई राजवंशी यति धेरै कथाकार वा लेखक हुनुहुन्छ भन्ने थाहा नभएको तर उहाँको कृति हेर्दा अझ उत्कृष्ट भएको बताउनुभयो। आचार्यले राजसंस्थाको अन्त्य भयो, ऊ फेरि फर्केर आउँछ कि आउँदैन वा राजसंस्था चाहिन्छ भनेर प्रष्ट नहुनु नै कथाकारको विशेषता रहेको बताउनुभयो।

त्यसै गरी अर्का व्यक्तित्व कोषराज न्यौपानेले राजवंशी कथाकार तथा चिन्तक दुवै भएको औंल्याउँदै ८३ वर्षको उमेरमा पनि सक्रिय लेखक मरेपछि पनि अमर रहने साहित्यकार भएको बताउनुभयो। उहाँले एउटा विद्यालय खोल्नुभन्दा पुस्तक लेख्नु ठूलो कार्य भएको बताउनुभयो।
स्वागत मन्तव्यका क्रममा उहाँका छोरा रूपक राजवंशीले आफूलाई आफ्ना बुबा के गरिरहनुभएको छ भन्ने कुरा थाहा नभएको बताउनुभयो। उहाँ जहिले पनि साथीभाइ वा परिवारमाझ रहँदा थुप्रै साहित्य सिर्जना गरे पनि त्यतापट्टि आफ्नो ध्यान नगएको तर आज उहाँका कृति विमोचनमा नेपाली साहित्यका मूर्धन्य साहित्यकारलाई स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताउनुभयो।

अर्का व्यक्तित्व रामप्रसाद ज्ञवालीले नेपालको प्रतीकका रूपमा कथाकारले महाकालीलाई लिएको चर्चा गर्नुभयो। ज्ञवालीले कृतिमा समाज बिगार्नेप्रति असन्तुष्टि व्यक्त गरिएको तथा समाजको पीडालाई आत्मसात् गरिएको बताउनुभयो। भिन्न तरिकाबाट कुनै पनि सभापति नराखी कार्यक्रम गरिएको थियो। ६० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको कार्यक्रममा गीत, कथा तथा कविता वाचन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्