के छ कोहलपुर एक्सप्रेसमा ?



विदुर गिरी

म्युजिक भिडियो क्विनको उपमाबाट समेत परिचित नायिका केकी अधिकारीले आफ्नो फिल्मी करियरमा डेढ दर्जन फिल्ममा अभिनय गरिन्। ८ वर्षको दौरानमा उनको करियरमा त्यस्ता धेरै शुक्रबार आए, जुन दिन उनको फिल्म रिलिज हुन्थ्यो। तर, आउन लागेको शुक्रबार जस्तो तनाव र कौतहुलपूर्ण शुक्रबार उनको जीवनमा सायदै फेरि पनि आउला।

उनका लागि आउने शुक्रबार यस कारण तनाव र कौतुहलापूर्ण छ कि यो शुक्रबार उनले पहिलोपटक निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस अल नेपाल रिलिज हुँदै छ। त्यसैले यो उनी यो शुक्रबारको व्यग्र प्रतीक्षामा छिन्। ‘आफूले खेलेका हरेक फिल्म रिलिजको बेलामा एकखाले एक्साइटमेन्ट त सधैं हुन्थ्यो नै। कोहलपुर एक्सप्रेसको रिलिज नजिकिँदै जाँदा भने एक्साइटमेन्टसँगै एक किसिमको डर पनि लागिरहेको छु’, केकीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘किनभने यसमा मेरो पैसा मात्र लगानी भएको छैन, सिंगो एक वर्षको समय लगानी भएको छ। सपनाको लगानी भएको छ।

मेहनत मेन्टल्ली स्ट्रेसको लगानी भएको छ। त्यसैले रिजल्ट कस्तो आउला भन्ने एक्साइटमेन्टसँगै एक किसिमको त्रास पनि महसुस भइरहेको छ। मैले आमा भएको अनुभव गरेको छैन, तर रिलिज नजिकँदै आउँदा सन्तान जन्मिँदै छ भन्ने फिल भएको छ।’

कलेज पढ्दै र म्युजिक भिडियोमा मोडलिङ गर्दै जाँदा केकी अधिकारीको नामका अगाडि विशेषण पनि थपिइसकेको थियो म्युजिक भिडियो क्विन। म्युजिक भिडियोमा मोडलिङ र अभिनय गर्दै जाँदा छोटो समयमै रातारात चम्किन पुगेकी कुशल निर्देशक बद्री अधिकारी पुत्री केकीले ८ वर्षअगाडि स्वर नामक सांगीतिक फिल्मबाट नायिकाका रूपमा डेब्यु गरिन्। स्वर उनका लागि गतिलो डेब्यु हुन सक्यो या सकेन, त्यो बेग्लै कुरा। तर, उनले भ्याइनभ्याई गरेर निरन्तररूपमा फिल्म पाइरहिन् र विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जितिरहिन्। ५ सय बढी म्युजिक भिडियोमा मोडलिङ र अभिनय तथा डेढ दर्जन फिल्ममा अभिनय गरिसकेपछि केकी एकाएक निर्मात्रीका रूपमा अगाडि आइन् र कोहलपुर एक्सप्रेस नामक फिल्म बनाइन्। अरूले बनाएको सेड्युल र योजनामा फिल्ममा अभिनय गर्दै आएकी केकीले फिल्म निर्माणका दुःख र कथा व्यथा त्यति बेला अनुभव गरिन्, जति बेला उनी आफैंले कोहलपुर एक्सप्रेस बनाइन्।

‘फिल्म मेकिङ गर्नु भनेको भास्ट काम हो भन्ने थाहा त थियो। तर, यति धेरै भास्ट होला, यति ठूलो जिम्मेवारी होला भन्ने सोचेको थिइनँ। फिल्म मेकिङमा यति धेरै मेन्टल स्टे«स हुन्छ भन्ने कल्पनै गरेको थिइनँ। कतिपय मेन्टल स्ट्रेस हामी नयाँ भएका कारणले पनि भएको थियो। किनभने प्रोडक्सन हेर्नेदेखि लिएर, म प्रड्युसर र डाइरेक्टरम्म सबै नयाँ थियौं।

त्यस बेला फिल्म मेकिङमा केही एक्सपिरेन्स लिएर आउनुपर्छ भन्ने अनुभव भयो’, केकीले भनिन्– ‘कतिपय मेन्टल स्ट्रेसचाहिँ रंग सिस्टमका कारण भयो भने कतिपयचाहिँ ह्युमन रिसोर्सलाई युज गर्न नजानेर पनि भयो। यसबारे पछि फुर्सदमा गतिलो आर्टिकल नै लेखौंला भन्ने सोचेको छु। अहिले चाहिँ फिल्मको रिलिज र प्रमोसनमा बाहेक केहीमा छैन’, केकी भन्दै थिइन्– ‘एक्टर मात्र हुँदा फिल्म मेकिङबारे केही थाहा थिएन। त्यो अरूको प्लानमा काम गरेको हुन्छ। तर, अरूको प्लानमा काम गर्न र सबै कुरा आफैंले म्यानेज गरेर फिल्म बनाउन कठिन हुँदोरहेछ।’

केकीले कोलपुर एक्सप्रेस कसरी बनाइन्, त्यसको पनि रोचक कथा छ। ‘एउटा म्युजिक भिडियोको सुटिङका क्रममा विशाल (म्युजिक भिडियो निर्देशक विशाल भण्डारी) दाइले एक जना भाइले लेखेको कथा राम्रो भएको छ। फिल्म एउटा ट्रेन्डमा बनिरहेको हुन्छ। हरेक फिल्म एउटा जेनेरामा बनेको हुन्छ। अहिले कमेडी जेनेरामा फिल्म बनिरहेको छ र यो फिल्मको कथामा फिमेल लिड कमेडीमा छन् भनेर सुनाउनुभयो। मैले जिस्किँदै त्यो फिल्मका लागि प्रड्युसर भेटाउनुभयो भने मलाई पनि खेलाउनोस् है, कि म आफैं प्रड्युसर गरौं भनें। जोकै जोकमा पछि मैले नै फिल्म बनाउने भएँ। प्रियंका कार्की, ऋचा शर्माहरूसँग टिमअप भयो र फिल्म बन्यो’, केकीले सुनाइन्– ‘फिल्म बनाउँदा कति कुरामा फ्रस्टेसन भयो। तर, त्यो सब क्षणिक हो। कला र फिल्मप्रतिको माया नै हो। अहिले फिल्म तयार भएपछि लगभग ८÷१० पटक पूरै फिल्म हेरें। इन्टरटेनिङ फिल भयो। फिल्म फ्लोमा छ। कोहलपुर एक्सप्रेस इन्टरटेनमेन्ट भ्यालु हाई राखेर बनाएको फिल्म हो। यो फिल्मले अर्डियन्सको मेन्टल स्ट्रेसलाई हटाउँछ। अब केवल दर्शकबाट रिजल्टको प्रतीक्षामा छु।’

केकीको यो कोहलपुर एक्सप्रेसका कथा निर्देशक विशाल भण्डारीकै, पटकथा र संवाद सान बस्नेत, गीत र संगीत राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालिप्रसाद बासकोटा, नृत्य गम्भीर विष्ट, छायांकन अर्जुन तिवारी र सम्पादन लोकेश वज्रचार्यको रहेको छ। फिल्ममा केकीका साथमा प्रियंका कार्की ऋचा शर्मा, विनोद न्यौपाने, रवीन्द्र झा, बुद्धि तामाङ, कुशाग्र भराईलगायतका कलाकार प्रमुख भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्