नेपाल क्रिकेट संघ (क्यान)माथि गरिएको निलम्वन फुकुवा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ ।

 

साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताकोत्यस्तै पारित गरेको हो । सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो ।

 

आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ ।

 

संशोधित विधानमा पुरानो कार्यसमितिका १७ र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सात जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघिको विधानमा उनीहरुले निःर्शत भोट हाल्न र उम्मेदवार हुन पाउने व्यवस्था थियो ।

 

अब क्यानको निर्वाचन गराउनका लागि अनुगमन समिति गठन हुनेछ । सो समितिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । समितिमा आइसिसीबाट तीन, राखेप र निर्वाचित क्यानबाट एक,एक प्रतिनिधि सदस्य रहनेछन् ।

 

विधान पारितभएसँगै नेपाली क्रिकेटको विकास, विस्तारमा सहयोग पुग्ने तथा क्यानको निलम्वन पनि पुकुवा हुने सम्भावना बढेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

 

विधान पारित गरे नेपाल क्रिकेट संघमाथि गरिएको निलम्वन फुकुवा गर्ने आइसिसीले यसअघि नै जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्