चुनाव नहुँदा खेलाडी मारमा



चुनाव नहुँदा खेलाडी मारमा
काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव सारिँदै जाँदा सबैभन्दा बढी नेपाली फुटबलरहरू मारमा परेका छन्।

अखिल नेपाल खेलाडी संघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर छिटोभन्दा छिटो चुनाव गर्न एन्फालाई आग्रह ग¥यो। पत्रकार सम्मेलनमा पूर्वराष्ट्रिय फुटबलरदेखि वर्तमान राष्ट्रिय तथा युवा खेलाडीहरूको बाक्लो उपस्थित थियो। क्लबहरूले खेलाडीलाई अनुबन्ध नगर्ने भनेपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पूर्वराष्ट्रिय फुटबलका कप्तान हरि खड्काले बताए।

लगभग ४ वर्ष भइसक्दा पनि एन्फाले लिग सञ्चालन गर्न नसक्दा खेलाडी ज्यादै पीडित भएको खड्काले बताए। उनले भने– ‘लिग नहुँदा सबैभन्दा पीडित खेलाडी भएका छन्। क्लबहरूले पनि खेलाडी अनुबन्ध नगर्ने भनेपछि कसरी उनीहरूको जीविका चल्नेछ। कतिको त फुटबल खेलेर घर चलेको छ। तर फुटबल नै निष्क्रिय हुन थालेपछि खेलाडी कता जाने। यसैले एन्फाले छिटो भन्दा छिटो चुनाव गर्नतिर लाग्नुपर्छ।

घरेलु लिग भइनरहँदा नेपाली फुटबल नै निलम्बनमा पर्ने डर भएको पनि खड्काले चिन्ता व्यक्त गरेका थिए। त्यस्तै अखिल नेपाल खेलाडी संघका उपाध्यक्ष तथा राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले खेलाडी अप्ठ्यारो अवस्थामा रहेको दुःखेसो पोखे। उनले बताए– ‘४वर्ष भइसकेको छ लिग नभएको। समयमा चुनाव नहुँदा हामी मर्कामा छांै। लिग हुनका लागि पहिले चुनाव हुनुप¥यो। किनभने चुनाव रोकिरहँदा एसियाली फुटबल महासंघ (एएफसी) बाट आउने अनुदान पनि रोक्का हुन्छ। क्लबले पनि खेलाडी अनुबन्ध नगर्ने कुरा चलेपछि हामी झनै दुखित् छौं।’

संघका अनुसार फुटबलबाट खेलाडी, प्रशिक्षक र अन्य जनशक्ति गरी करिब ५ सयभन्दा बढी व्यक्ति लाभाविन्त भइरहेका थिए। अहिलेको अन्योल स्थितिले त्यो पनि कम हुँदै गएको संघले जनाएको छ। कप्तान महर्जनले बताएअनुसार धेरै खेलाडी विदश पलायन भइसकेका छन्। उनले भने– ‘ए डिभिजन लिगका क्लबका कति खेलाडी त विदश पलायन भएका छन्। एन्फाले ठोस कदम नउठाएको हुँदा फुटबलको भविष्य अन्धकारतिर मोडिएको हो कि भन्ने लागेको छ। यस्तै अवस्था रहने हो भने नेपाली फुटबलको भविष्य छैन भन्नुपर्ने हुन्छ।’

प्रतिक्रिया दिनुहोस्